२०८२ फाल्गुन १६ गते, शनिबार २१:५१

वीरगन्जमा होली मिलनको नयाँ शैली: उमङ्गसँगै २० युनिट रगत सङ्कलन

वीरगन्ज-

वसन्तोत्सव होलीको अवसरमा वीरगन्जमा शुभकामना आदानप्रदान मात्र गरिएन, मानवीय सेवाको एउटा सुन्दर उदाहरण पनि प्रस्तुत गरियो। वीरगन्ज महानगरपालिका–१६ फूलबारी टोलमा तीनवटा सामाजिक संस्थाहरूको संयुक्त आयोजनामा ‘रक्तदान तथा होली मिलन कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ।

 मानव अधिकार एवम् कैदीबन्दी न्याय सरोकार मञ्च नेपाल पर्सा, जनजाति दलित समाज पर्सा–बारा र रजक समाज पर्सा–बाराद्वारा आयोजित उक्त कार्यक्रममा २० जनाले उत्साहपूर्वक रक्तदान गरेका छन्। होली पर्वलाई केवल रङ र रमाइलोमा मात्र सीमित नगरी रगतको अभावमा छटपटाइरहेका बिरामीको ज्यान जोगाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।

 कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जाराले होलीलाई अराजकता र अमर्यादासँग जोड्ने विकृति बढिरहेका बेला रक्तदान जस्तो पवित्र कार्य गरेर आयोजकले समाजमा सकारात्मक सन्देश दिएको बताउनुभयो। “निर्वाचन र होलीको यो माहोलमा जीवन रक्षाका लागि परोपकारी काम हुनु प्रशंसनीय छ,” उहाँले भन्नुभयो।

 कार्यक्रमका अध्यक्ष तथा सञ्चारकर्मी राजु बैठाले सबैलाई मर्यादित रूपमा होली मनाउन आग्रह गर्दै रक्तदानमा सहभागीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। साथै, आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भ जोड्दै उहाँले देशको प्रगतिका लागि योग्य व्यक्तिलाई मतदान गर्न समेत मतदाताहरूलाई आह्वान गर्नुभयो।

 कार्यक्रममा ५१ पटक रक्तदान गरिसक्नुभएका रक्तदाता राजेन्द्र भट्टराईले रक्तदान गर्दा स्वास्थ्यमा कुनै समस्या नआउने बरु यसले आत्मसन्तुष्टि दिने बताउनुभयो। उहाँले स्वस्थ नागरिकलाई नियमित रक्तदान गर्न प्रेरित गर्नुभयो।

कार्यक्रममा उपस्थित सबैले एक–अर्कालाई अबिरको टीका लगाई र गम्छा ओढाएर होलीको शुभकामना साटासाट गरेका थिए। कार्यक्रममा मञ्चका उपाध्यक्ष रिजवान अलि, महिला उपाध्यक्ष सुशीला कुलाल क्षेत्री, सचिव हरिन्द्र बरई, कोषाध्यक्ष महेश साह, रजक समाज पर्साका अध्यक्ष डा. बृजकिशोर बैठा, बाराका अध्यक्ष जटाशंकर बैठा र जनजाति दलित समाजका अध्यक्ष लवकुश बैठा लगायतको सक्रिय उपस्थिति रहेको थियो।

पोडकास्ट सुन्नुहोस