२०८२ फाल्गुन १६ गते, शनिबार २१:४४

१० हजारले जितको दाबी गर्ने २० हजारको मतान्तरले हार्दैछन् : अनिल कुमार रुङ्गटा

वीरगन्ज-

नेपाली काँग्रेस पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अनिल कुमार रुङ्गटाले १० हजार मतले चुनाव जित्ने दाबी गर्ने उम्मेदवारलाई वीरगन्जवासीले २० हजारको मतान्तरले पराजित गर्ने मनस्थिति बनाइसकेको दाबी गर्नुभएको छ।

वीरगन्ज महानगरपालिका–१६ नगवामा शनिबार बिहान आयोजित घरदैलो कार्यक्रममा देखिएको जनसहभागिताले विपक्षीको दाबी निराधार सावित हुने संकेत दिएको उहाँले बताउनुभयो। “जनताको हैसियतलाई चुनौती दिँदै ठूलो मतान्तरको दाबी गर्नेहरूलाई यसपटक जनताले नै कडा जवाफ दिनेछन्,” उहाँले भन्नुभयो।

शनिबार वीरगन्जमा आयोजित प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उम्मेदवार रुङ्गटाले मधेसबाट अवसरवादी र बारम्बार दल परिवर्तन गर्ने नेताहरूको सफाया गर्न मतदाता कम्मर कसेर लागिसकेको दाबी गर्नुभयो। उहाँका अनुसार सभामा देखिएको उत्साहजनक उपस्थिति परिवर्तनको स्पष्ट संकेत हो।

उहाँले स्वार्थका लागि पटक–पटक दल परिवर्तन गर्ने उम्मेदवारहरूलाई यस निर्वाचनमा जनताले पराजित गर्ने दाबी गर्नुभयो। मधेस आन्दोलनका शहीदको भावनालाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्ने प्रवृत्तिप्रति संकेत गर्दै उहाँले मतदाताले यस्ता गतिविधि राम्रोसँग बुझेको बताउनुभयो।

अहिलेको चुनावी प्रतिस्पर्धा इतिहासविहीन वा विवादित छवि भएका दल र जनअधिकारका लागि अग्रपंक्तिमा संघर्ष गरेको सुनौलो इतिहास बोकेको नेपाली काँग्रेसबीच रहेको उहाँको भनाइ थियो। “जसको स्पष्ट इतिहास छैन वा कालो इतिहास छ, त्यस्ता दलका उम्मेदवारलाई जनताले पहिचान गरिसकेका छन्,” उहाँले भन्नुभयो।

उहाँले चार तारे अंकित नेपाली काँग्रेसको रुख चिन्हमा मतदान गरी बहुमतको सरकार बनाउन आग्रह गर्नुभयो। देशलाई निकास र जनतालाई चाहिएको विकास दिन सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै उहाँले गगन कुमार थापाजस्ता भिजनरी नेताको नेतृत्वमा सरकार गठन गर्न अपिल गर्नुभयो।

“देशको भविष्य सुरक्षित गर्न र विकासलाई गति दिन काँग्रेस नेतृत्वको सरकार आवश्यक छ,” उम्मेदवार रुङ्गटाले भन्नुभयो।

पोडकास्ट सुन्नुहोस