२०८२ फाल्गुन २० गते, बुधबार १९:०४

वीरगन्ज १६ इनर्वा प्रकरण: ‘गोप्य खबर’ मा प्रकाशित समाचारप्रति महानगरको गम्भीर ध्यानाकर्षण

वीरगन्ज-

वीरगन्जबाट प्रकाशन हुने अनलाइन पोर्टल ‘गोप्य खबर’ ले वीरगन्ज–१६ इनर्वामा बम फेला परेको विषयमा सम्प्रेषण गरेको समाचारप्रति वीरगन्ज महानगरपालिका र नगर प्रमुखको सचिवालयले गम्भीर आपत्ति जनाएको छ। सचिवालयले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त समाचार भ्रामक र पूर्वाग्रही रहेको आरोप लगाएको छ।

महानगरको दाबी र आरोप

सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “कुनै प्रकारको पुष्टि र प्रमाणबिना नगर प्रमुखलाई जोडेर बदनाम गर्नुका साथै निर्वाचन आचारसंहिता र स्वतन्त्र प्रेसको न्यूनतम मूल्य र मान्यताको धज्जी उडाउँदै निर्वाचन बिथोल्ने उद्देश्य प्रेरित भई गैरजिम्मेवार विषयवस्तु पस्किएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।”

विज्ञप्तिमा निर्वाचनको मौन अवधिमा मतदातालाई प्रभावित पार्ने र सामाजिक सद्भाव खल्बल्याउने उद्देश्यले समाचार प्रकाशन गरिएको दाबी गरिएको छ। अनुसन्धान जारी रहेको अवस्थामा अन्य व्यक्तिलाई जोडेर आरोप लगाउनु पत्रकारिताको मर्यादाविपरीत रहेको महानगर पक्षको ठहर छ।

कानुनी कारबाहीको माग

महानगर सचिवालयले यस विषयमा निष्पक्ष छानबिन गरी संलग्न व्यक्ति र सञ्चारमाध्यमलाई प्रचलित कानुनबमोजिम कारबाही गर्न स्थानीय प्रशासन र निर्वाचन आयोगसँग माग गरेको छ। साथै, स्वतन्त्र प्रेसको आडमा काल्पनिक विषयवस्तु तयार पारी बदनाम गर्ने प्रवृत्तिका व्यक्तिहरूबाट सचेत रहन वीरगन्जवासीलाई आग्रह समेत गरिएको छ।

‘गोप्य खबर’ को प्रतिबद्धता ‘गोप्य खबर’ सधैँ सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्दछ। हामी समाजका हरेक पक्षका विचार र प्रतिक्रियालाई सन्तुलित रूपमा स्थान दिन प्रतिबद्ध छौँ। यस प्रकरणमा पनि सत्यताको खोजी र जिम्मेवार पत्रकारिताप्रति हाम्रो प्रतिबद्धता कायम रहनेछ।

सामाजिक सद्भाव खलबलाई निर्वाचन भाँड्ने षडयन्त्र असफल

पोडकास्ट सुन्नुहोस