काठमाडौँ-
प्रधानमन्त्री सुशीला कार्कीले राजकीय जिम्मेवारीबाट अलग हुने तयारी गरेकी छिन्। प्रस्तावित प्रधानमन्त्री बालेन शाहले आउँदो शुक्रबार प्रधानमन्त्रीको नियुक्तिपत्र लिने र सोही दिन पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ।
जिम्मेवारी छाड्न केही दिन मात्र बाँकी रहँदा प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट औपचारिक रूपमा बिदा लिइसकेकी छिन्। उनले कर्मचारीहरूले राखेको औपचारिक बिदाइ कार्यक्रमको प्रस्तावलाई अस्वीकार गर्दै अनौपचारिक रूपमै बिदाबारी हुने इच्छा व्यक्त गरेकी हुन्।
कार्कीले अहिले सिंहदरबारस्थित कार्यालय जान छाडेकी छिन् भने बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट उनको परिवारले आफ्ना व्यक्तिगत सामानहरू टोखास्थित निजी निवासमा सारिसकेका छन्। हाल टोखामा पूर्वप्रधानमन्त्रीका रूपमा उनको सुरक्षा व्यवस्थाका लागि आवश्यक संरचना निर्माणको काम भइरहेको छ।













