वीरगन्ज-
“म तपाईँहरूको भोट लिएर ठूलो नेता बन्न आएको होइन, तपाईँहरूको दुःख सुन्ने र सेवा गर्ने सेवक बन्न आएको हुँ। अब तपाईँका समस्याहरू सिंहदरबारको ढोकामा मात्र होइन, मेरै सचिवालयमा सुनुवाइ हुनेछन्।”
पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य बुद्धिप्रसाद पन्त (हरि पन्त) ले बिहीबार वीरगन्जमा आयोजित एक विशेष कार्यक्रममा व्यक्त गर्नुभएका यी शब्दले उपस्थित सयौँ क्षेत्रवासीको मन जितेको छ। जनभावनालाई कदर गर्दै उहाँले क्षेत्रबासीको सहजताका लागि वीरगन्जमा आफ्नै निजी सचिवालय कार्यालयको समेत स्थापना गर्नुभएको छ।
वीरगन्जको क्लासिक ब्याङ्क्वेट होटलमा आयोजित ‘गुनासो तथा सुझाव संकलन’ कार्यक्रममा क्षेत्र नम्बर १ का सयौँ नागरिकहरू आफ्ना समस्या बोकेर पुगेका थिए। कार्यक्रममा सहभागीहरूले वर्षौँदेखि अलपत्र परेका खानेपानीका योजना, जीर्ण सडक, अलपत्र पोखरी र धर्मशालाका बारेमा सांसद पन्तलाई भावुक हुँदै जानकारी गराएका थिए। विशेषगरी, वीरगन्जको पहिचानका रूपमा रहेको वीरगन्ज चिनी कारखाना सञ्चालनका लागि सरकारले ठोस पहल गर्नुपर्ने माग क्षेत्रवासीले जोडदार रूपमा राखेका थिए।
“घुस मागे वा दुःख दिए सिधै मलाई भन्नुहोस्”
जनताका गुनासा धैर्यताका साथ सुनेपछि सांसद पन्तले आफू जनताको सेवक भएको दोहोर्याउनुभयो। उहाँले भन्नुभयो, “पहिलाको जस्तो चुनाव जितेर हराउने नेता म बन्दिनँ। मेरो क्षेत्रका जनतालाई कुनै पनि सरकारी कार्यालयमा काम गर्दा घुस मागियो वा अनावश्यक दुःख दिइयो भने निर्धक्क भएर मेरो सचिवालयमा आउनुहोस्।”
उहाँले आफ्नो क्षेत्रको विकासका लागि सदनमा आवाज उठाउने र आफ्नै बहुमतको सरकार रहेकाले जिल्लाको बृहत्तर हितका लागि योजनाहरू ल्याउने आश्वासन समेत दिनुभयो।
सांसद र जनताबीचको दूरी मेटाउन स्थापना गरिएको यो सचिवालयले अब क्षेत्रबासीका स-साना कामदेखि ठूला समस्या समाधानका लागि पुलको काम गर्ने विश्वास गरिएको छ। नेताहरू चुनाव जितेपछि काठमाडौँमै हराउने पुरानो प्रवृत्तिलाई चिर्दै पन्तले गाउँ-टोलमै पुगेर जनताको समस्या सुन्ने यो शैलीको सबैले प्रशंसा गरेका छन्।















