२०८२ चैत्र २८ गते, शनिबार १९:३२

एसइई दिएका विद्यार्थीलाई लक्षित गर्दै वीरगञ्जमा ‘भविष्य मेला’ को दोस्रो संस्करण आयोजना हुँदै, २५ भन्दा बढी कलेज सहभागी हुने

वीरगन्ज-

पर्सा, बारा, रौतहट र आसपासका क्षेत्रमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका विद्यार्थी तथा उनीहरूका अभिभावकलाई लक्षित गर्दै ‘भविष्य मेला’ को दोस्रो संस्करण आयोजना हुन लागेको छ ।

पहिलो संस्करणको ठूलो सफलतापछि यस पटक मेलालाई अझ भव्य, व्यवस्थित र मर्यादित बनाउने लक्ष्यका साथ आगामी वैशाख ५ गते शनिवार वीरगञ्जको सिद्धार्थ दियालो होटेलमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ ।

वीरगन्ज कै एड्स बी मिडियाको आयोजनामा हुने एक दिने शैक्षिक तथा करियर मेलाले आठ हजारभन्दा बढी विद्यार्थी र अभिभावकलाई प्रत्यक्ष रूपमा जोड्ने अपेक्षा गरिएको छ ।

कार्यक्रम निर्देशक नवीन कार्कीका अनुसार, ‘भविष्य मेला’ केवल शैक्षिक प्रदर्शनी नभई विद्यार्थीहरूको शैक्षिक, व्यावसायिक र व्यक्तिगत भविष्य निर्माण गर्ने परिवर्तनकारी मञ्च हो । “मेलाले वीरगन्ज र आसपासका क्षेत्रमा शैक्षिक जागरूकता तथा सामाजिक-आर्थिक प्रगतिका लागि महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ,” उनले भने । मेलाको मुख्य उद्देश्य पर्सा, बारा, रौतहटका ग्रामीण तथा सहरी क्षेत्रका विद्यार्थीहरूलाई विज्ञान, व्यवस्थापन, कानुन, पत्रकारिता, इन्जिनियरिङ, चिकित्सा, व्यावसायिक शिक्षा लगायत विभिन्न प्राविधिक शैक्षिक क्षेत्रबारे विस्तृत जानकारी प्रदान गर्नु रहेको उनले बताए ।

मेलामा विद्यार्थीहरूलाई आफ्नो रुचि, क्षमता, परिवारको आर्थिक अवस्था र दीर्घकालीन आकाङ्क्षासँग मेल खाने शैक्षिक संस्था र विषय छनोट गर्न मार्गदर्शन दिइनेछ । यसले शैक्षिक समानता प्रवर्द्धन गर्नुका साथै करियर तयारीमा प्रोत्साहन दिने र स्थानीय समुदायको सामाजिक-आर्थिक उन्नतिमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ । मेलाले ग्रामीण तथा विपन्न समुदायका विद्यार्थीहरूलाई मेरिट र आवश्यकतामा आधारित छात्रवृत्ति, किफायती शैक्षिक कार्यक्रम र वित्तीय सहायता प्रदान गरी शैक्षिक समानता सुनिश्चित गर्नेछ ।

पहिलो संस्करण गत वर्ष वीरगन्ज नगर सभागृह (टाउन हल) मा आयोजना भएको थियो । उक्त मेलामा पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, मकवानपुर, सिराहा, धनुषा र सप्तरीसहित १० जिल्लाबाट ५ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए । मेलामा १८ वटा संस्थागत र १० वटा सामुदायिक कलेज गरी कुल २८ कलेजले स्टल राखेका थिए । विद्यार्थीहरूले शैक्षिक परामर्श, विषय छनोट, छात्रवृत्ति, खर्च र रोजगारीका अवसरबारे प्रत्यक्ष जानकारी प्राप्त गरेका थिए ।

दोस्रो संस्करणमा थप आकर्षक सुविधा र पुरस्कारको व्यवस्था गरिएको कार्कीको दाबी छ । विद्यार्थीहरूलाई उत्कृष्ट शैक्षिक संस्था छनोट गर्ने अवसरसँगै एक जना विद्यार्थीलाई मोबाइल फोन, पाँच जना विद्यार्थीलाई एयरबड्स र १० जना विद्यार्थीलाई पावर बैंक, हाते घडीलगायतका सामग्रीहरू जित्ने मौका मिल्नेछ । सहभागी कलेजहरूले पूर्णदेखि आंशिक छात्रवृत्ति उपलब्ध गराउने छन् भने विद्यार्थीहरूले निःशुल्क करियर काउन्सिलिङ सेवा पनि प्राप्त गर्नेछन् ।

काउन्सिलिङ मार्फत विद्यार्थीहरूले कुन सङ्काय छान्ने, के पढ्दा भविष्यमा राम्रो रोजगारीको अवसर मिल्ने, आफ्नो क्षमता अनुसार उपयुक्त विषय छनोट गर्ने, छात्रवृत्तिका अवसर लगायतका बारेमा विशेषज्ञबाट व्यक्तिगत मार्गदर्शन पाउनेछन् ।

मेलामा शैक्षिक संस्थाहरूका लागि पनि आफ्ना कार्यक्रम, सुविधा, प्रयोगशाला, पुस्तकालय, खेलकुद, उद्योग साझेदारी, अन्तर्राष्ट्रिय आदानप्रदान र विशेष छात्रवृत्ति योजनाहरू प्रदर्शन गर्ने सुनौलो अवसर हुनेछ । संस्थाहरूले पाँच हजारभन्दा बढी प्रेरित विद्यार्थी तथा अभिभावकसँग प्रत्यक्ष अन्तरक्रिया गर्न सक्नेछन् । करियर कार्यशाला, प्रत्यक्ष प्रदर्शनी र पूर्व विद्यार्थीका सफलताका कथाहरूमार्फत संस्थाहरूले आफ्नो शैक्षिक नेतृत्व र विश्वसनीयताको छवि निर्माण गर्न सक्नेछन् ।

मेलामा यसका साथै विद्यार्थी तथा अभिभावकका लागि थुप्रै विशेष सुविधा उपलब्ध हुनेछन् । निःशुल्क डिम्याट खाता, निःशुल्क बैंक खाता, निःशुल्क आँखा जाँच शिविर र निःशुल्क नेपाली टेलिकमको सिम कार्ड वितरण पनि गरिने आयोजकहरूले जनाएका छन् । यसका साथै स्टेशनरी किट, शैक्षिक किताब र टेक ग्याजेटसमेत प्रदान गरिनेछ । बैङ्कहरूसँगको साझेदारीमा निःशुल्क बैंक तथा डिम्याट खाता खोल्ने सुविधाले विद्यार्थीहरूलाई वित्तीय साक्षरता र भविष्यको योजनाबारे प्रेरित गर्नेछ ।

वीरगन्जका निजी तथा सामुदायिक विद्यालय र कलेजहरूले मेलामा सहभागिता जनाउने छन् । वीरगन्ज महानगरपालिका, प्याब्सन पर्सा, एनप्याब्सन पर्सा, हिसान पर्सा, वीरगञ्ज उद्योग वाणिज्य संघ लगायतका संस्थाहरूको सहकार्यले मेलालाई थप प्रभावकारी बनाउने अपेक्षा छ ।

आयोजक नवीन कार्कीले दोस्रो संस्करणलाई पहिलोभन्दा अझ व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । “यो मेला नेपालका युवालाई उज्ज्वल भविष्यतर्फ डोर्‍याउने परिवर्तनकारी आन्दोलन बन्नेछ,” उनले भने ।
‘भविष्य मेला २०२६’ मा सहभागी हुन वीरगञ्ज र आसपासका क्षेत्रका एसइई दिएका विद्यार्थी, अभिभावक, शैक्षिक संस्था तथा स्थानीय व्यवसायीलाई आयोजकले हार्दिक निमन्त्रणा गरेको छ । मेला शैक्षिक जागरूकता, करियर मार्गदर्शन र सामुदायिक सहकार्यको उत्कृष्ट मञ्च बन्ने विश्वास गरिएको छ ।

पोडकास्ट सुन्नुहोस