सिरहा –
सिरहाको जिरोमाइल क्षेत्रबाट १९ किलो गाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका-९ निवासी राजेश दास रहेका छन् ।
नेपालबाट भारततर्फ गाँजा तस्करी भइरहेको गोप्य सूचनाका आधारमा सशस्त्र प्रहरी बलको टोलीले विशेष निगरानी अभियान सञ्चालन गर्दै उनलाई पक्राउ गरेको हो । सुखिपुरबाट खटिएको सशस्त्र प्रहरी निरीक्षक यादव खत्रीको नेतृत्वमा रहेको टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार अवस्थामा दासलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।
जाँचका क्रममा उनको साथबाट १९ किलो गाँजा फेला परेको सशस्त्र प्रहरी बल सिरहाका एसपी सुमनजंग थापाले जानकारी दिए ।
प्रहरीका अनुसार गाँजासहित तस्करीमा प्रयोग गरिएको अटो रिक्सा र मोटरसाइकल पनि बरामद गरिएको छ । साथै, नगद २५ हजार १०५ रुपैयाँ, रेडमी ए-फाइभ मोबाइल सेट र करिब ११ तोला चाँदीको ब्रासलेट समेत फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुमान अनुसार पक्राउ परेका दास लामो समयदेखि सीमावर्ती क्षेत्रमा हुने लागूऔषध ओसारपसारमा संलग्न हुन सक्ने देखिएको छ ।
हाल उनलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।













