काठमाडौँ –
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आजदेखि ३७ वर्षमा प्रवेश गरेका छन्। वि.सं. २०४७ साल वैशाख १४ गते काठमाडौंको नरदेवीमा जन्मिएका शाहको यस वर्षको जन्मदिन आइतबार परेको हो।
जन्मदिनको अवसरमा उनकी पत्नी सविना काफ्लेले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई विशेष शुभकामना व्यक्त गरेकी छन्। उनले फेसबुकमा लेखेकी छन्, ‘सम्माननीयज्यूलाई जन्मदिनको हार्दिक शुभकामना।’
रामनारायण साह र आमा ध्रुवदेवी शाहका कान्छा सुपुत्रका रूपमा जन्मिएका बालेनको पुर्ख्यौली घर महोत्तरीको एकडारा गाउँपालिका हो। काठमाडौँमा जन्मिएर कर्मथलो बनाएका शाहले छोटो समयमै नेपाली राजनीतिमा आफ्नो बलियो उपस्थिति जनाउन सफल भएका छन्।
गत २०८२ चैत १३ गते मुलुकको कार्यकारी प्रमुख (प्रधानमन्त्री) को कार्यभार सम्हालेका शाहले सरकारको नेतृत्व गरेको आज एक महिना पूरा भएको छ। स्थानीय तहको नेतृत्वबाट राष्ट्रिय राजनीतिमा उदाएका शाहको कार्यशैली र आगामी योजनालाई आम नागरिकले निकै चासोका साथ हेरिरहेका छन्।
प्रधानमन्त्रीको जन्मदिन र सरकारको एक महिने कार्यकाल पूरा भएको अवसरमा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिइरहेका छन्।











