काठमाडौँ –
उच्च अदालत पाटनले नेपाली चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय लगायतका निकायका नाममा यस्तो आदेश दिएको हो।
चलचित्रका कतिपय दृश्य र शब्दहरूले बादी समुदायको मानमर्दन र आत्मसम्मानमा ठेस पुर्याएको भन्दै उक्त समुदायकी प्रतिनिधि रोशनी नेपालीले वैशाख १४ गते अदालतमा रिट दायर गरेकी थिइन्। बादी समुदायको संवेदनशीलतामाथि प्रहार गरिएको भन्दै चलचित्र प्रदर्शनमा रोक लगाउन माग गरिएको थियो।
अदालतले यही वैशाख २२ गतेसम्म चलचित्र प्रदर्शन नगर्न आदेश दिएको छ। सोही दिन रिट निवेदक र विपक्षी निकायहरूबीच संयुक्त इजलासमा दोहोरो छलफल हुनेछ। उक्त छलफलपछि मात्र यो आदेशले निरन्तरता पाउने वा नपाउने भन्ने टुंगो लाग्नेछ। अदालतले विपक्षीहरूलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न समेत निर्देशन दिएको छ।
यम थापाको निर्देशनमा तयार भएको ‘लालीबजार’ यही वैशाख १८ गतेदेखि देशभरका हलहरूमा प्रदर्शन हुने तयारीमा थियो। तर, अदालतको यो आदेशसँगै चलचित्रको प्रदर्शन तत्कालका लागि अनिश्चित बनेको छ। यदि वैशाख २२ को छलफलपछि अन्तरिम आदेशले निरन्तरता पाएमा रिटको अन्तिम किनारा नलागेसम्म चलचित्र प्रदर्शन हुन पाउने छैन।










