वीरगन्ज-
वीरगन्ज (रेल्वे रोड) पञ्चमुखी हनुमान मन्दिर मा सञ्चालन भइरहेको श्री रामकथा महायज्ञको आज सातौँ दिन बिहानको पूजापाठ तथा विभिन्न धार्मिक अनुष्ठानका सम्पन्न भएको छ। नौ दिनसम्म चल्ने यस महायज्ञमा श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति रहेको छ।
महायज्ञका संयोजक गौरी प्रसाद गुप्ताको संयोजनमा सञ्चालन भइरहेको कार्यक्रममा हवन पूजामा श्रद्धा र भक्तिभावका साथ चार सम्मानित जोडी विराजमान भएका छन्। हवनमा बसेका सम्माननीय दम्पतीहरूमा श्री रमेश सर्राफ तथा धर्मपत्नी, श्री मनोज मिश्र तथा धर्मपत्नी, श्री प्रभु साह तथा धर्मपत्नी र श्री दीपक साह तथा धर्मपत्नी रहेका छन्। उहाँहरूको सहभागिताले यज्ञको गरिमा अझ बढाएको आयोजकले जनाएको छ।
पूजा–पाठ पण्डित राजीव रञ्जन भारद्वाजद्वारा विधिपूर्वक सम्पन्न भइरहेको छ भने कथा वाचनका रूपमा बनारस निवासी प्रख्यात कथावाचक मधुकरजी महाराजद्वारा दैनिक रूपमा रामकथा प्रवचन भइरहेको छ।
आयोजक टिमका सदस्य अमर सराफका अनुसार, महायज्ञ आगामी बिहीबारसम्म सञ्चालन हुनेछ भने १७ गते पूर्णाहुति तथा महाप्रसाद वितरण कार्यक्रम आयोजना गरिनेछ। करिब १४ लाख रुपैयाँको लागतमा सञ्चालन भइरहेको यस धार्मिक महायज्ञ स्थानीय टोलबासी तथा सहयोगी दाताहरूको सहयोगमा सम्पन्न भइरहेको छ।
महायज्ञ अन्तर्गत प्रत्येक बिहान यज्ञ, पूजा तथा हवन कार्यक्रम सञ्चालन भइरहेको छ भने साँझ ६ बजेदेखि ९ बजेसम्म रामकथा प्रवचन भइरहेको छ। यज्ञस्थलमा भगवानका विभिन्न मूर्तिहरू स्थापना गरिनुका साथै ५०० कलश स्थापना गरी धार्मिक वातावरणलाई अझ भव्य बनाइएको छ।
कथावाचक मधुकरजी महाराजले रामकथा केवल श्रवण गर्ने विषय मात्र नभई भगवान श्रीरामको आदर्श, मर्यादा र चरित्रलाई आफ्नो जीवनमा आत्मसात् गर्नुपर्ने सन्देश दिएका छन्। उहाँले सत्य, धर्म र कर्तव्यको मार्गमा अघि बढ्न प्रेरित गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन सबैलाई आग्रह गर्नुभएको छ।
यस महायज्ञले धार्मिक आस्था अभिवृद्धि गर्नुका साथै सामाजिक एकता, सद्भाव र नैतिक मूल्यहरूको संरक्षणमा समेत महत्वपूर्ण योगदान पुर्याइरहेको विश्वास गरिएको छ। सनातन धर्ममा आस्था र विश्वास राख्ने सम्पूर्ण भक्तजनहरुलाई यज्ञमा सहभागी हुन अनुरोध गरिएको छ।










