२०८३ बैशाख २१ गते, सोमबार १८:२१

विद्यार्थीलाई मानसिक यातना दिई शुल्क असुल्दै गौतम मावि

वीरगन्ज-

गुणस्तरीय शिक्षा प्रदान गर्दै ख्याति आर्जन गरेको वीरगन्जको चर्चित गौतम माध्यमिक विद्यालय (मा.वि.) ले शुल्क असुली गर्न विद्यार्थीलाई प्रताडना गरेको आरोप लागेको छ। गौतम माविको कक्षा १० र कक्षा ८ मा अध्ययनरत छात्राहरूलाई शुल्क नबुझाएकै कारण कक्षाकोठाबाट दुई घण्टासम्म बाहिर निकालेर शिक्षकले अपमानित गरेको आरोप लागेको हो।

वीरगन्ज महानगरपालिकाका वडा नं. १२, मुर्ली निवासी दिनेश कुमार गुप्ताले आज (सोमबार) वीरगन्ज महानगरपालिकाको शिक्षा महाशाखामा उजुरी दर्ता गराउँदै यस्तो आरोप लगाएका हुन्।

गौतम माविको कक्षा १० मा अध्ययनरत अंकिता गुप्ता र कक्षा ८ मा अध्ययनरत आराध्या गुप्तालाई शुल्क नतिरेकै कारण कक्षाकोठाबाट बाहिर निकालेर दुई घण्टासम्म मानसिक यातना दिइएको भन्दै विद्यालय प्रशासनविरुद्ध कारबाहीको माग गरिएको छ।

बक्यौता शुल्क असुली गर्नका लागि विद्यालय प्रशासन तथा शिक्षकले विद्यार्थीलाई कुनै पनि प्रकारले मानसिक यातना दिन नहुने नेपाल सरकारको नीति विपरीत गौतम मा.वि. ले आचरण गरेको भन्दै कानुनबमोजिम कारबाही गर्न गुप्ताले महानगरपालिकासँग माग गरेका छन्।

वीरगन्ज महानगरपालिकाको शिक्षा महाशाखामा दर्ता गराईएको उजुरी

यस विषयमा गौतम मा.वि.का प्रधानाध्यापक गणेश क्षेत्रीसँग बुझ्दा उहाँले शैक्षिक सत्रको अन्त्यसम्म सबै विद्यार्थीको मासिक लगायतका शुल्क फरफारक हुनु पर्ने विद्यालयको नीति अनुसार आज बिहान गुप्ताका छोरीलाई कक्षाकोठाबाट निकालिएको स्वीकार गर्नुभयो। उहाँले शुल्क तिर्न समस्या भएका विद्यार्थीका अभिभावकले विद्यालयसँग समन्वय गरेपछि त्यस्ता सयौँ विद्यार्थीलाई नियमित पठनपाठनमा सहभागी गराउँदै आएको भए पनि गुप्ता पटक–पटक भन्दा पनि समन्वयमा नआएकाले यस्तो समस्या देखिएको दाबी गर्नुभयो।

घटनापछि गुप्ताले दुवै छात्राको शुल्क आजै भुक्तानी गरी विद्यालयलाई बदनाम गर्न झुटा आरोप लगाएको प्रधानाध्यापक क्षेत्रीले दाबी गर्नुभयो। विद्यालयले शुल्क बक्यौताको विषयमा छलफल गर्न सबै अभिभावकलाई सन्देश पठाएको भए पनि गुप्ता सम्पर्कमा नआएको र आएका अभिभावकका सन्तानको पठनपाठनमा कुनै समस्या नआएको उहाँले बताउनुभयो।

यस विषयमा वीरगन्ज महानगरपालिकाको शिक्षा महाशाखाका निमित्त प्रमुख आनन्द लामिछानेसँग प्रतिक्रिया लिन खोज्दा उहाँ सम्पर्कमा आउन चाहनुभएन।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस