२०८३ बैशाख २१ गते, सोमबार १८:२१

५ लाख डलरसम्म जरिवाना र आजीवन जेल सजाय: कम्बोडियाको कडा कानुनपछि नेपालीलाई उच्च सतर्कता

काठमाडौं –

कम्बोडियाले अनलाइन ठगीविरुद्ध इतिहासकै कडा कानुन लागू गरेपछि त्यहाँ रहेका नेपालीहरूका लागि जोखिम ह्वात्तै बढेको छ। कठोर सजायको प्रावधान सार्वजनिक भएसँगै बैंककस्थित नेपाली राजदूतावासले तत्काल जरुरी सूचना जारी गर्दै सचेत रहन आग्रह गरेको हो।

नयाँ कानुनको सबैभन्दा कडा पक्ष, अनलाइन स्क्यामिङजस्ता अन्तरदेशीय अपराधमा संलग्न पाइएमा ५ लाख अमेरिकी डलरसम्म जरिवाना र आजीवन कैदसम्मको सजाय। सानो गल्तीले पनि जीवनभरको सजाय भोग्नुपर्ने अवस्था सिर्जना भएको छ।

कम्बोडिया सरकारले गत हप्तादेखि नै यो कानुन कडाइका साथ लागू गर्दै अवैध स्क्यामिङ केन्द्रहरूमा व्यापक कारबाही थालेको छ। देशभर छापा, गिरफ्तारी र केन्द्र ध्वस्त पार्ने अभियान तीव्र बनाइएको छ, जसले त्यहाँ काम गरिरहेका विदेशी नागरिकहरूलाई समेत सीधै कानुनी घेरामा ल्याइरहेको छ।

यही सन्दर्भमा दूतावासले विशेष चेतावनी दिएको छ । पर्यटक भिसामा गएर बसिरहेका वा स्क्यामिङ केन्द्रमा संलग्न नेपालीहरूले तुरुन्त त्यस्ता गतिविधि बन्द गरी स्वदेश फर्कनु। लोभलाग्दा तलब र सुविधा देखाएर फसाइने क्रम बढ्दै गएको भन्दै दूतावासले यसलाई गम्भीर मानव तस्करीसँग जोडिएको जोखिमपूर्ण जालका रूपमा व्याख्या गरेको छ।

दूतावासले पुनः स्पष्ट पारेको छ कि पर्यटकीय भिसामा काम गर्नु गैरकानुनी हो। वैदेशिक रोजगारीका लागि जानुअघि वैदेशिक रोजगार विभाग बाट श्रम स्वीकृति लिनु र रोजगारदाताको आधिकारिकता प्रमाणित गर्नु अत्यावश्यक छ।

कम्बोडियामा रहेका नेपालीहरूको अवस्था पहिचान गरी उद्धार तथा स्वदेश फिर्ती सहज बनाउन दूतावासले अनलाइन फाराम पनि खुला गरेको छ। समस्यामा परेका नेपालीलाई तुरुन्त दूतावास वा परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभाग मा सम्पर्क गर्न आग्रह गरिएको छ।

यस्तै, प्रलोभनमा पारेर कम्बोडिया पुर्‍याउने एजेन्टहरूविरुद्ध नेपाल फर्किएपछि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो मा उजुरी दिन पनि दूतावासले सुझाव दिएको छ।

आँकडाले पनि जोखिम बढ्दो देखाउँछ—कम्बोडिया जाने नेपालीको संख्या पछिल्ला वर्षहरूमा अत्यधिक बढेको छ, र त्यससँगै समस्यामा पर्नेहरू पनि उस्तै दरले बढिरहेका छन्।कम्बोडियाको पर्यटनसम्बन्धी तथ्याङ्क अनुसार पछिल्लो समय सन् २०२१ मा १०१ जना नेपालीहरू भ्रमण भिसामा कम्बोडिया गएकोमा सन् २०२२ मा १९७७ जना, सन् २०२३ मा २९४० जना, सन् २०२४ मा ६४०४ जना तथा सन् २०२५ मा ९६७ट जना नेपालीहरू कम्बोडिया गएको देखिन्छ। कम्बोडियामा नेपालीहरू समस्यामा पर्ने क्रमसमेत बढेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस