वीरगन्ज–
वीरगन्जका हिन्दुवादी अगुवा एवं राष्ट्रिय समता पार्टी नेपालका अध्यक्ष विजय प्रकाश निषादलाई पर्सा प्रहरीले पक्राउ गरेको घटनाप्रति विभिन्न धार्मिक तथा राजनीतिक संघ-संस्थाहरूले तीव्र आपत्ति जनाएका छन्। राष्ट्रिय समता पार्टी नेपाल, नेपाल विश्व हिन्दु महासंघ र अन्तर्राष्ट्रिय हिन्दु परिषद्/राष्ट्रिय बजरंग दल नेपालले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै निषादको पक्राउलाई ‘राजनीतिक प्रतिशोध’ र नागरिक अधिकारमाथिको प्रहार भन्दै अविलम्ब र बिनाशर्त रिहाइको माग गरेका हुन्।
राष्ट्रिय समता पार्टी नेपाल र नेपाल विश्व हिन्दु महासंघका तर्फबाट महासचिव डा. अभिषेक तिवारीद्वारा जारी विज्ञप्तिमा लोकतान्त्रिक मुलुकमा आफ्नो विचार, धर्म र संस्कृतिको पक्षमा आवाज उठाउनु प्रत्येक नागरिकको संवैधानिक अधिकार भएको उल्लेख गरिएको छ। हिन्दु धर्म र धार्मिक पहिचानको वकालत गरेकै कारण निषादलाई पक्राउ गरिनु लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथिको प्रत्यक्ष हस्तक्षेप भएको ती संस्थाहरूको ठहर छ।
विज्ञप्तिमा भनिएको छ, “नेपालमा बस्ने हामी तीन करोड नेपालीहरू मध्ये ८४ प्रतिशत हिन्दु तथा ओमकार परिवार गरि ९४ प्रतिशतले वैदिक सनातन हिन्दु धर्म संस्कृति आत्मसात गरेका छौँ। बहुसंख्यक जनताको विचारमाथि खेलबाड गर्दै राज्यले नागरिकको मौलिक हक समेत कुण्ठित गर्ने अभिप्रायले निषादलाई पक्राउ गरेको देखिन्छ।” यो कदम लोकतान्त्रिक मूल्य र मान्यता विपरीत रहेको भन्दै यसले राज्यप्रति आम नागरिकको विश्वास कमजोर बनाउने चेतावनी समेत दिइएको छ।
त्यसैगरी, अन्तर्राष्ट्रिय हिन्दु परिषद् एवं राष्ट्रिय बजरंग दल, नेपालका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र मिश्रद्वारा जारी विज्ञप्तिमा पनि निषादको पक्राउप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। शान्तिपूर्ण रूपमा आफ्नो विचार राख्ने नेतामाथि गरिएको यो कारबाही अमर्यादित र राजनीतिक प्रतिशोधबाट प्रेरित रहेको बजरंग दलको आरोप छ।
विज्ञप्ति जारी गर्ने सबै संस्थाहरूले निषाद र उनीसँगै पक्राउ परेका अन्य व्यक्तिहरूलाई बिनाकुनै सर्त तत्काल रिहा गर्न सरकार र सम्बन्धित निकायसँग जोडदार माग गरेका छन्। साथै, नागरिकको संवैधानिक अधिकारको सम्मान गर्न र राजनीतिक वा धार्मिक आस्थाका आधारमा दमन नगर्न समेत उनीहरूले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।











