२०८३ असार २२ गते, सोमबार १२:३०

विद्युतीय अपराध र राज्य विरुद्धको कसूरमा दुर्गा प्रसाईं वीरगन्जबाट पक्राउ, अनुसन्धानका लागि ३ दिनको म्याद थप

वीरगन्ज

विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत सार्वजनिक नैतिकता, शिष्टचार विरुद्ध र राज्यप्रति घृणा फैलाउने अभिव्यक्ति दिएको आरोपमा दुर्गा प्रसाद प्रसाईं वीरगन्जबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतको वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई जेठ ४ गते राति वीरगन्जको सिद्धार्थ दियालो होटलबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका ५६ वर्षीय प्रसाईंको स्थायी घर झापाको विर्तामोड नगरपालिका वडा नं. ५ भई हाल उनी भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ६ मा बस्दै आएका छन्

प्रहरीका अनुसार प्रसाईंले सामाजिक सञ्जालहरूमा विभिन्न अभिव्यक्ति दिने क्रममा विभिन्न जातजाती र सम्प्रदाय बीचको सुमधुर सम्बन्धमा खलल पार्ने, कसैप्रति घृणा वा द्वेष फैलाउने र नेपाल सरकार वा सरकारको काम कारबाहीका विरुद्ध निराधार तथा अप्रमाणित कुराहरू देखाई घृणा र अवहेलना जगाउने उद्देश्यले अमर्यादित एवं अस्वस्थ्य आलोचनात्मक अभिव्यक्तिहरू दिँदै आएका थिए

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार प्रसाईंउपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन र राज्य विरुद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको छ । अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति लिएर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस