काठमाडौँ–
पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङले प्रेस काउन्सिल नेपालमा उजुरी दिएका छन्। सञ्चारमाध्यमहरूले आफूविरुद्ध कपोलकल्पित र भ्रामक समाचार फैलाएको भन्दै सांसद गुरुङले शुक्रबार प्रेस काउन्सिलमा लिखित उजुरी दर्ता गराएका हुन्।
केही दिनअघि विभिन्न अनलाइन तथा सञ्चारमाध्यममा ‘सुधन गुरुङ युवतीसहित रिसोर्ट पुगेको प्रमाण प्रहरीको नियन्त्रणमा’ शीर्षकमा समाचार प्रकाशन भएको थियो। उक्त समाचार बाहिरिएपछि उनीमाथि राजनीतिक र सामाजिक वृत्तमा प्रश्न उठेका थिए। गुरुङले सो समाचारको कडा खण्डन गर्दै सत्यतथ्य नबुझी चरित्र हत्या गर्ने उद्देश्यले समाचार लेख्ने सञ्चारकर्मी र सञ्चारमाध्यमविरुद्ध कारबाहीको माग गरेका छन्।
उनले प्रेस काउन्सिल ऐन, २०४८ तथा पत्रकार आचारसंहिता बमोजिम हदैसम्मको कारबाही र सजायको माग गर्दै उजुरी दिएका हुन्।
आफू आफ्नो व्यक्तिगत तथा पारिवारिक भ्रमणमा गएको सामान्य घटनालाई लिएर सञ्चारमाध्यमले जबर्जस्ती चरित्र हत्या गर्ने नियतका साथ अर्को प्रसङ्गमा जोडेको भन्दै उनले गम्भीर आपत्ति समेत जनाएका छन्। प्रेस काउन्सिलले उजुरी दर्ता गरेसँगै यसबारे आवश्यक छानबिन प्रक्रिया अगाडि बढाउने जनाएको छ।












