२०८३ जेष्ठ १७ गते, आईतवार २१:४५

श्रीमतीको गल प्रहार गरी हत्या गर्ने तत्मा महोत्तरीबाट पक्राउ

वीरगन्ज-

मादक पदार्थ सेवन गरी आफ्नै श्रीमतीको फलामको गल प्रहार गरेर निर्मम हत्या गरी फरार भएका एक व्यक्तिलाई पर्सा प्रहरीले महोत्तरीबाट पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार वीरगन्ज महानगरपालिका वडा नं. १० बजरंग टोलमा बस्दै आएका ४५ वर्षीय रामनारायण दास तत्मालाई महोत्तरीको रामगोपालपुरबाट नियन्त्रणमा लिइएको हो

मदिराको सुरमा फलामको गल प्रहार

जिल्ला प्रहरी कार्यालय पर्साद्वारा जारी “प्रेस विज्ञप्ति अनुसार गत जेठ १४ गते बेलुका अन्दाजी ७:१० बजेको समयमा वीरगन्ज–१० बजरंग टोलस्थित डेरामा रामनारायण दास तत्माले अत्यधिक मादक पदार्थ सेवन गरेका थिए। मदिराकै सुरमा उनले आफ्नी ४२ वर्षीया श्रीमती हलसिया कुमारी देवीमाथि फलामको गलले टाउको तथा शरीरका विभिन्न भागमा क्रुरतापूर्वक प्रहार गरेका थिए। गल प्रहारबाट घटनास्थलमै हलसिया कुमारीको मृत्यु भएपछि अभियुक्त तत्मा फरार भएका थिए।

लुकिछिपी बसेको अवस्थामा फेला

घटना लगत्तै फरार अभियुक्तको खोजीका लागि जिल्ला प्रहरी कार्यालय पर्साको टोली सक्रियताका साथ खटिएको थियो। विशेष सूचनाको आधारमा पर्सा प्रहरीले जिल्ला प्रहरी कार्यालय महोत्तरीसँग समन्वय गरी खोजतलास तीव्र पारेको थियो। सोही क्रममा जेठ १६ गते दिउँसो अन्दाजी १२:०० बजेको समयमा अभियुक्त तत्मालाई उनको स्थायी घर रहेको जिल्ला महोत्तरी रामगोपालपुर नगरपालिका वडा नं. ७ मा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो।

कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सुरु

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार पक्राउ परेका अभियुक्त रामनारायण दास तत्मालाई पर्सा ल्याई कर्तव्य ज्यान (ज्यान सम्बन्धी कसूर) मुद्दामा हिरासतमा राखेर थप अनुसन्धान कार्य भइरहेको छ

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस