वीरगन्ज–
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वीरगन्ज महानगर कमिटीको प्रथम महानगर अधिवेशनबाट दीपराज पटेल सभापतिमा निर्वाचित भएका छन् । आइतबार सम्पन्न निर्वाचनमा आफ्ना निकटतम प्रतिस्पर्धी म. महुद्दीन आलमलाई ४७ मतको अन्तरले पराजित गर्दै पटेल नयाँ नेतृत्वमा चयन भएका हुन् ।
निर्वाचनको अन्तिम परिणामअनुसार नयाँ सभापतिमा निर्वाचित पटेलले २२६ मत प्राप्त गरे भने निवर्तमान महानगर सभापतिसमेत रहेका आलमले १७९ मत मात्र प्राप्त गरे ।
पदाधिकारीहरूमा कसको कति मत ?
महानगर कमिटीको अन्य पदाधिकारीहरूमा पनि कडा प्रतिस्पर्धा देखिएको थियो ।
- उपसभापति: परितोष द्विवेदी १८४ मतसहित निर्वाचित भए । उपसभापतिका अन्य उम्मेदवारहरू निखिल वर्णवालले १७६ मत र विशाल कुमार पटेलले २९ मत प्राप्त गरे ।
- सचिव: गौतम श्रेष्ठ २३२ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी जुनैद अन्सारीले १६६ मत पाएका थिए ।
- सह–सचिव: मून्ना साह तेली १८८ मतसहित निर्वाचित हुँदा अन्य उम्मेदवार राजनन्दन कलवारले १७१ मत र ऋषिकेश गुप्ताले ४५ मत प्राप्त गरे ।
सदस्यहरूमा को–को आए ?
खुला सदस्यतर्फ रञ्जित कुमार पटेल, प्रमोद कुमार पटेल, आजम मन्सुरी, जितेन्द्र प्रसाद सोनार, मोहन साह सोनार, चन्दन महतो कहार, सदरे आलम अन्सारी र कन्हैया साह निर्वाचित भएका छन् ।
त्यसैगरी, महिला सदस्यतर्फ पिंकी कुमारी साह, अन्जु चौरसिया, सावित्री कुमारी घिमिरे, शोभा गुप्ता र दिसना गिरी निर्वाचित भएका छन् ।
दुई सदस्य मनोनित गरिने
रास्वपा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति राम आर्यका अनुसार कुल २५ सदस्यीय महानगर कमिटी रहने व्यवस्था भए पनि हालको अधिवेशनबाट २३ जना निर्वाचित भएका छन् । कार्यसमितिका बाँकी दुई सदस्यहरू भने आगामी दिनमा मनोनित गरिने जानकारी दिइएको छ ।












