२०८३ जेष्ठ १९ गते, मंगलवार १९:२२

वीरगन्जका मेयर सिंह ठोरीबाट पक्राउ

वीरगन्ज-

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख (मेयर) राजेशमान सिंहलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको आठ दिनपछि प्रहरीले उनलाई पर्साको ठोरी गाउँपालिकाबाट पक्राउ गर्न सफल भएको हो।

लेखत सम्बन्धी कसुर मुद्दामा फरार रहेका मेयर सिंह ठोरी क्षेत्रमा लुकी बसेको गोप्य सूचनाका आधारमा आज बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीले जानकारी दिनुभयो। पक्राउ परेका सिंहलाई आवश्यक कानुनी प्रक्रियाका लागि वीरगन्ज ल्याइँदै गरिएको उहाँले बताउनुभयो।

पर्सा जिल्ला अदालतले वैशाख १२ गते लेखत सम्बन्धी कसुर मुद्दामा पक्राउ गर्न प्रहरीलाई ३५ दिनको म्याद दिएपछि मेयर सिंह फरार रहँदै आएका थिए।

झुटा प्रमाणका आधारमा अर्काकी छोरीलाई नागरिकता र राहदानी (पासपोर्ट) बनाइदिएको आरोपमा मेयर सिंहसहित चार जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस