२०८३ जेष्ठ १९ गते, मंगलवार २०:०१

नयाँ दिल्लीमा रास्वपा सभापति रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता, विकास साझेदारीमा जोड

नयाँ दिल्ली

पाँचदिने औपचारिक भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच नयाँ दिल्लीमा शिष्टाचार भेटवार्ता भएको छ।

भ्रमणको दोस्रो दिन मंगलबार भएको सो भेटघाटमा नेपाल र भारतबीचको द्विपक्षीय हित, विकास साझेदारी तथा जनस्तरको सम्बन्धका विविध आयामबारे केन्द्रित रहेर छलफल भएको छ।

विदेशमन्त्री जयशंकरले भने– ‘सार्थक छलफल भयो’

रास्वपा सभापति लामिछानेसँगको भेट लगत्तै भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मार्फत भेटको तस्बिर सार्वजनिक गर्दै खुसी व्यक्त गरेका छन्।

“आज दिल्लीमा नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उनको प्रतिनिधिमण्डलसँग भेट्न पाउँदा खुसी लाग्यो,” विदेशमन्त्री जयशंकरले लेखेका छन्, “हाम्रो वार्ता विकास साझेदारी र जनता–जनताबीचको सम्बन्धमा केन्द्रित रह्यो। यी सम्बन्धहरूले दुई देशबीच विकास, प्रगति र समृद्धि अभिवृद्धि गर्नमा अहम् भूमिका निर्वाह गर्दछन्।”

भाजपाको निमन्त्रणामा पाँचदिने भ्रमण

भारतीय जनता पार्टी (भाजपा) को औपचारिक निमन्त्रणामा सोमबार दिल्ली प्रस्थान गरेका पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेले यसअघि भाजपा मुख्यालयमा भव्य स्वागत पाएका थिए।

रास्वपा प्रतिनिधिमण्डलको यो भ्रमणलाई नेपालका नयाँ राजनीतिक शक्तिहरूसँग सम्बन्ध विस्तार गर्ने भारतको कूटनीतिक प्रयासका रूपमा चासोका साथ हेरिएको छ। भ्रमणका क्रममा लामिछानेले अन्य शीर्ष कूटनीतिक तथा राजनीतिक नेतृत्वसँग पनि भेटघाट गर्ने तालिका रहेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस