वीरगन्ज-
काभ्रेपलान्चोकको पाँचखालमा सशस्त्र प्रहरी बलका एक सहायक निरीक्षक (असई) र एक युवती जंगलमा मृत फेला परेका छन्। पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरी घर भएका सशस्त्र प्रहरी असई शक्ति राम र कैलालीकी २६ वर्षीया शर्मिला चौधरी काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ३ स्थित ठुली सामुदायिक वनमा मृत फेला परेका हुन्।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार बुधबार बिहान स्थानीयले वनमा मौवाको दुईवटा छुट्टाछुट्टै रुखमा महिला र पुरुषको सडेगलेको कंकाल झुण्डिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। खबर पात्तसाथ प्रहरी चौकी पाँचखालबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले घटनास्थल पुगेर मृतकहरूको पहिचान खुलाएको हो।
वैशाख १९ देखि थिए बेपत्ता
सशस्त्र प्रहरी बल नम्बर १५ गण काभ्रेमा दरबन्दी रहेका असई शक्ति राम गएको वैशाख १९ गते गणबाट २ दिनको बिदा लिएर निस्किएका थिए। तर, बिदा सकिएर पनि उनी सम्पर्कमा नआएपछि परिवारले खोजतलासका लागि निवेदन दिएका थिए। सशस्त्र प्रहरीले उक्त निवेदन वैशाख २१ गते नै जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकमा पठाएको थियो।
यस्तै, कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ की २६ वर्षकी शर्मिला चौधरी गत वैशाख १८ गते शक्ति रामलाई भेट्न भन्दै काभ्रे आएकी थिइन्। उनी पनि सम्पर्कविहीन भएपछि उनका भाइ रन्जित चौधरीले वैशाख २५ गते प्रहरी वृत्त बालाजुमा खोजतलासका लागि निवेदन दिएका थिए।
मोबाइल लोकेसन र अनुसन्धान
दुवै जना बेपत्ता भएपछि प्रहरीले प्राविधिक अनुसन्धान सुरु गरेको थियो। प्रहरी वृत्त बालाजुबाट खोजतलास गर्ने क्रममा शर्मिला चौधरीको मोबाइलको अन्तिम लोकेसन काभ्रेपलाञ्चोकमा देखिएको थियो। दुवै जनाको मोबाइल लामो समयदेखि स्विच अफ रहेको प्रहरीले जनाएको छ।
अहिले दुवै जनाको शवलाई पोष्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छ। घटनाको प्रकृति र कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ।











