२०८३ जेष्ठ २० गते, बुधबार २३:२५

शेल कम्पनी खडा गरी प्रभु बैंकको कर्जा दुरुपयोग गरेको आरोपमा राम जानकी हेल्थ फाउण्डेसनका अध्यक्ष पाण्डे पक्राउ

काठमाडौँ

शेल कम्पनी (कृत्रिम व्यवसाय) खडा गरी बैंकको करोडौँ कर्जा दुरुपयोग गरेको आरोपमा एक जना व्यवसायी पक्राउ परेका छन्। प्रभु बैंक लिमिटेडबाट लिएको कर्जा रकम उद्देश्यविपरीत प्रयोग गरेको र धितोको अस्वाभाविक मूल्यांकन गराएको आरोपमा राम जानकी हेल्थ फाउण्डेसनका सञ्चालक समितिका अध्यक्ष ओमप्रसाद पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो।

काठमाडौँ महानगरपालिका–९, रातोपुल बस्ने पाण्डे ‘इन्स्टिच्युट अफ एग्रिकल्चर, फरेस्ट एन्ड भेटेरिनरी साइन्सेज प्रा.लि.’ का एकल सञ्चालक समेत हुन्।

डिपिआर बिना नै कर्जा, धितोमा बदमासी

प्रहरीका अनुसार पाण्डेले आफ्नो कम्पनीमार्फत कृत्रिम (शेल) व्यवसाय खडा गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बिना नै बैंकबाट कर्जा लिएका थिए। कर्जा लिने क्रममा उनले धितोको बजार मूल्यभन्दा अस्वाभाविक रूपमा बढी मूल्यांकन गराएर कर्जा स्वीकृत गराएको अनुसन्धानबाट खुलेको छ।

बैंकबाट जुन प्रयोजनका लागि कर्जा लिइएको थियो, सो कार्यमा लगानी नगरी उनले रकम अन्यत्रै मोडेर पटक–पटक दुरुपयोग गरेको प्रहरीको दाबी छ। उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको अपराध गरेको आरोप लागेको छ।

६ महिनापछि धनुषाबाट पक्राउ

उक्त बैंकिङ कसूरको घटनामा उच्च अदालत पाटन, ललितपुरले गत २०८२ मंसिर २८ गते नै पाण्डेविरुद्ध पक्राउ अनुमति जारी गरेको थियो। अदालतको आदेशपछि फरार रहेका पाण्डेलाई प्रहरीले आज (२०८३ जेठ २० गते) धनुषा जिल्लाको छिरेश्वरनाथ नगरपालिका–१, रमदैयास्थित जानकी मेडिकल कलेज परिसरबाट नियन्त्रणमा लिएको हो।

पक्राउ परेका पाण्डेलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि हिरासतमा राखी कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस