महोत्तरी ।
महोत्तरी जिल्लामा पछिल्लो समय चोरी, डकैती, लुटपाट तथा अपहरणजस्ता आपराधिक गतिविधि बढ्दै गएको भन्दै स्थानीयवासीमा सुरक्षा चिन्ता बढिरहेका बेला बालक अपहरण प्रयासमा संलग्न एक जना आरोपी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार पक्राउ पर्ने व्यक्ति रौतहटको गढीमाई नगरपालिका-७ निवासी २३ वर्षीय नवराज अधिकारी हुन्। उनलाई गत जेठ १५ गते रौतहटको गौर नगरपालिका-५ स्थित हस्पिटल चोकबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार गत वैशाख ७ गते दिउँसो करिब २ बजे महोत्तरीमा तीन जना व्यक्तिले नम्बर नखुलेको मोटरसाइकलमा एक ८ वर्षीय बालकलाई जबर्जस्ती राखेर अपहरण गर्ने प्रयास गरेका थिए। बालकले चिच्याउँदै गुहार मागेपछि स्थानीयवासी घटनास्थलतर्फ दौडिएका थिए। स्थानीयको प्रतिरोध देखेपछि अपहरणकारीहरूले बालकलाई बीच बाटोमै छाडेर फरार भएका थिए।
घटनापछि प्रहरीले अनुसन्धान तीव्र बनाउँदै वारदातमा प्रयोग भएको ना ६४ प ७९९० नम्बरको मोटरसाइकल बरामद गरेको थियो। सोही अनुसन्धानका क्रममा नवराज अधिकारीको संलग्नता खुलेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
महोत्तरी प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पञ्चलाल गोलेका अनुसार पक्राउ परेका अधिकारीमाथि थप अनुसन्धानका लागि महोत्तरी जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरिएको छ।
यस घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। जिल्लामा बढ्दो आपराधिक घटनाप्रति चिन्ता व्यक्त गर्दै स्थानीयले सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन माग गरेका छन्।












