२०८३ जेष्ठ २१ गते, बिहीबार १२:०२

झन्झट अन्त्य: रौतहटमा हुलाकमार्फत घरमै पासपोर्ट वितरण सुरु

रौतहट-

सेवाग्राहीको समय र खर्च बचत गर्दै प्रशासनिक सेवामा पारदर्शिता बढाउने तथा सम्भावित बिचौलिया र अनावश्यक झन्झटलाई न्यूनीकरण गर्ने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालय रौतहटले राहदानी घरघरमै पुर्‍याउने सेवा सुरु गरेको छ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालय रौतहटबीच भएको सम्झौताअनुसार पहिलो चरणमा २१ वटा राहदानी सम्बन्धित सेवाग्राहीको घरमै पुगेर हस्तान्तरण गरिएको छ। यस अभियानअन्तर्गत प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले गौर नगरपालिका-२ महादेवपट्टिमा सेवाग्राही राजु राम र विकास पासवानको घरमै पुगेर राहदानी हस्तान्तरण गर्नुभएको हो।

प्रजिअ भुसालका अनुसार सरकारी सेवा नागरिकको घरदैलोमै पुर्‍याउने नीतिअनुसार यो प्रणाली लागू गरिएको हो, जसले सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य गर्नुका साथै समय र आर्थिक दुवै भार घटाउनेछ। यसले कार्यालयमा हुने अनावश्यक भिडभाड कम गर्दै सेवाप्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

हुलाकमार्फत राहदानी वितरण भएपछि सेवाग्राहीले अब पासपोर्ट लिनका लागि पटक-पटक कार्यालय धाउनुपर्ने अवस्था हट्नेछ। यसले प्रक्रियामा पारदर्शिता बढाउने र बिचौलियाको भूमिका न्यून गर्ने विश्वास प्रशासनले लिएको छ।

जिल्ला हुलाक कार्यालयका प्रमुख देवनाथ यादवका अनुसार घरमै राहदानी प्राप्त गर्न इच्छुक सेवाग्राहीले रु ५५ बराबरको हुलाक शुल्क व्यहोर्नुपर्नेछ। साथै, वितरण हुन बाँकी रहेका पुराना राहदानीसमेत सम्बन्धित स्थानीय तहसँग समन्वय गरी हुलाकमार्फत घरघरमै पुर्‍याउने तयारी भइरहेको छ।

विशेषगरी ग्रामीण क्षेत्रका नागरिक, ज्येष्ठ नागरिक, महिला तथा वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका सेवाग्राहीका लागि यो सेवा अत्यन्त उपयोगी हुने अपेक्षा गरिएको छ। प्रशासनले यसलाई सेवाप्रवाह सुधार र सुशासन सुदृढीकरणतर्फको महत्वपूर्ण कदमका रूपमा लिएको छ।

प्रतिक्रिया

बिहारको मुजफ्फरपुरस्थित अस्पतालमा भीषण आगलागी: आईसीयूमा धुवाँ भरिँदा १० जनाभन्दा बढी बिरामीको मृत्यु भएको दाबी

मुजफ्फरपुर– भारतको बिहार राज्यस्थित मुजफ्फरपुर जिल्लाको ब्रह्मपुरा थाना क्षेत्रमा रहेको

बिहारको मुजफ्फरपुरस्थित अस्पतालमा भीषण आगलागी: आईसीयूमा धुवाँ भरिँदा १० जनाभन्दा बढी बिरामीको मृत्यु भएको दाबी

मुजफ्फरपुर– भारतको बिहार राज्यस्थित मुजफ्फरपुर जिल्लाको ब्रह्मपुरा थाना क्षेत्रमा रहेको

पोडकास्ट सुन्नुहोस