२०८३ जेष्ठ २१ गते, बिहीबार २०:०९

इलेक्ट्रोनिक स्कुटरको ब्याट्री विस्फोट, हुदा लजमा आगलागी

वीरगन्ज –

वीरगन्जमा बिहीबार बिहान इलेक्ट्रोनिक स्कुटरको ब्याट्री विस्फोट हुँदा लजमा आगलागी भएको छ।

वीरगन्ज महानगरपालिका–९, गोश्वार टोलस्थित गढिमाई लजमा पार्किङ गरिएको स्कुटरको ब्याट्री पड्किएपछि आगो लागेको हो।

बिहान करिब ७ बजे भएको घटनामा मधेस प्रदेश ०३–०३९ प १४४३ नम्बरको इलेक्ट्रोनिक स्कुटर पूर्ण रूपमा जलेर नष्ट भएको छ। साथै लजभित्र रहेका विभिन्न सामग्रीमा समेत ठूलो क्षति पुगेको प्रहरीले जनाएको छ।

लज तथा स्कुटरका धनी किशन साह कानुका अनुसार पार्किङ गरिएको स्कुटरबाट अचानक धुवाँ निस्किएको र त्यसपछि विस्फोटजस्तो आवाज आएको थियो। केही क्षणमै आगो फैलिँदै लजभित्रका संरचना र सामग्रीमा समेत सल्किएको उनले बताए।

आगलागीबाट स्कुटरसँगै लजभित्र रहेका फर्निचर, लत्ताकपडा, इन्टरनेट उपकरण, एसी, पंखा, होर्डिङ बोर्डलगायतका सामग्री जलेर नष्ट भएका छन्।

जिल्ला प्रशासन कार्यालय पर्सा नजिकै भएको कारण घटनापछि केही बेरमै सुरक्षाकर्मीहरू घटनास्थलमा पुगेका प्रत्यक्षदर्शीहरूले बताएका छन्।

त्यसपछि सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाली सेना तथा वीरगन्ज महानगरपालिकाको बारुणयन्त्रसमेत आगो नियन्त्रणका लागि परिचालन गरिएको थियो।

आगलागीको कारण र क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस