२०८३ जेष्ठ २२ गते, शुक्रबार १४:०१

आकर्षक रोजगारीको प्रलोभनमा पारिएका बर्दिवासका १६ मुसहर नागरिक भारतमा बन्धक

उद्धारका लागि नयाँ दिल्लीस्थित नेपाली दूतावाससँग समन्वय गरिँदै

बर्दिवास

महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाका महिला र बालबालिकासहित १६ जना मुसहर समुदायका कामदारहरू भारतको एक कुखुरा फार्ममा बन्धकमा परेका छन्। बर्दिवास नगरपालिका–१४ स्थित मुसहर बस्तीका १० जना पुरुष र ६ जना महिला कामदारलाई भारतको हरियाना राज्यको जिन जिल्ला, झाझर थाना अन्तर्गतको हेलन गाउँमा रहेको कुखुरा फार्ममा बन्धक बनाइएको हो। बन्धक बनाइएकाहरूका आफन्तले उनीहरूको ज्यान जोखिममा रहेको भन्दै उद्धारका लागि इलाका प्रहरी कार्यालय बर्दिवासमा लिखित निवेदन दिएपछि यो गम्भीर घटना सार्वजनिक भएको हो।

बन्धक बनाइएकी २० वर्षीया किरण सदाले साहुको आँखा छलेर लुकीछिपी नेपालमा रहेका आफन्तलाई फोन गरेपछि उनीहरूको पीडादायी अवस्थाबारे जानकारी मिलेको थियो। किरणका अनुसार कुखुरा फार्मका साहुले उनीहरूलाई डर-धम्की दिँदै मानसिक तथा शारीरिक यातना दिएर राखेका छन्। काम गरेबापत पाउनुपर्ने ज्याला मजदुरी समेत नदिई उनीहरूलाई पशुवत् रूपमा बन्धक बनाइएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक गुरुप्रसाद तिमिल्सिनाले बताए।

प्रहरीका अनुसार बन्धक पर्नेहरूमा १७ वर्षीय मुकेश, १६ वर्षीय किसन, १३ वर्षीय आशिक, २१ वर्षीय अमृत, ३५ वर्षीय झरी र उनका नौ वर्षीय छोरा शंकर सदा रहेका छन्। त्यसैगरी ३८ वर्षीय विसुनदेव, उनका छोरा अमृत, ४० वर्षीय मोहन सदा तथा महिलातर्फ विसुनदेवकी ३५ वर्षीया श्रीमती महावती, मोहनकी ३५ वर्षीया श्रीमती बेचो सदा, अमृतकी २० वर्षीया श्रीमती किरण, झरी सदाकी श्रीमती लालमुनी र उनका छोरीहरू काजल तथा साजन सदा बन्धक बनाइएका छन्।

मुसहर बस्तीका यी विपन्न नागरिकहरूलाई बर्दिवास नगरपालिका–३ गौरीडाँडा बस्ने दिलीप परियारले गत चैत १३ गते आकर्षक तलब र सेवा सुविधासहित हलुको काम लगाइदिने प्रलोभन देखाएर भारत पुर्‍याएका थिए। पीडितका आफन्तहरू वीरेन्द्र सदा, कारिचरण सदा, अशोक सदा, अमरलाल सदा र मनोहर सदाले आफ्ना परिवारका सदस्यहरूको तत्काल उद्धारका लागि प्रहरीमा गुहार मागेका छन्। प्रहरी नायब उपरीक्षक तिमिल्सिनाले आफन्तको निवेदन प्राप्त भइसकेकाले भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली राजदूतावास र अन्य सरोकारवाला निकायहरूसँग समन्वय तथा सहकार्य गरेर बन्धकहरूको सुरक्षित उद्धारका लागि आवश्यक पहल सुरु गरिसकिएको जानकारी दिए।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस