२०८३ जेष्ठ २२ गते, शुक्रबार १४:२३

परराष्ट्रमन्त्री खनाल आज भारत जाँदै, रास्वपा सभापति लामिछाने स्वदेश फर्कँदै

नयाँ दिल्लीमा भोलि द्विपक्षीय वार्ता हुने, व्यापार, लगानी र ऊर्जा सहकार्य मुख्य एजेन्डा

काठमाडौँ

नेपालको कूटनीतिक र राजनीतिक वृत्तमा आज भारतसँग जोडिएका दुई फरक र महत्त्वपूर्ण गतिविधिहरू एकैसाथ हुँदैछन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आफ्नो पाँच दिने औपचारिक भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कँदै हुनुहुन्छ। लामिछाने स्वदेश फर्कने दिन नै नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल तीन दिने औपचारिक भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्न लाग्नुभएको हो। भारतीय विदेशमन्त्री डा. एस जयशंकरको औपचारिक निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

परराष्ट्र मन्त्रालयले मन्त्री खनालको विस्तृत भ्रमण तालिका सार्वजनिक गर्दै भ्रमणका क्रममा उच्चस्तरीय द्विपक्षीय भेटवार्ताहरू तय भएको उल्लेख गरेको छ। घोषित कार्यतालिका अनुसार भोलि नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा परराष्ट्रमन्त्री खनाल र उहाँका भारतीय समकक्षी डा. एस जयशंकरबिच औपचारिक द्विपक्षीय वार्ता हुने कार्यक्रम रहेको छ। दुई देशका विदेशमन्त्रीबिच हुने उक्त उच्चस्तरीय भेटवार्तामा नेपाल र भारतबिचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ।

मन्त्रालयका अनुसार यस पटकको कूटनीतिक भेटघाटमा दुवै देशले आपसी हितका विविधि आयामहरूमा सहकार्य बढाउने उद्देश्य राखेका छन्। वार्ताका क्रममा नेपाल र भारतबिचको व्यापार, लगानी अभिवृद्धि, क्रस-बर्डर कनेक्टिभिटी, ऊर्जा व्यापार तथा जनस्तरको सम्बन्ध (पिपुल टु पिपुल रिलेसन्स) लगायतका प्रमुख क्षेत्रहरूमा साझेदारी सुदृढ गर्ने विषयमा गहन छलफल हुनेछ। परराष्ट्रमन्त्रीका रूपमा खनालको यो भ्रमणले दुई देशबिच थाती रहेका कतिपय प्राविधिक तथा आर्थिक एजेन्डाहरूलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस