२०८३ जेष्ठ २२ गते, शुक्रबार १६:५१

त्रिवेणी उद्योगमा भीषण आगलागी, क्षतिको विवरण आउन बाँकी

वीरगन्ज-

बारा–पर्सा औद्योगिक करिडोरअन्तर्गत छातापिपरा क्षेत्रमा अवस्थित एक धागो उद्योगमा भीषण आगलागी भएको छ। जितपुरसिमरा उपमहानगरपालिका-९ मा सञ्चालित त्रिवेणी स्पिनिङ धागो उद्योगमा आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहान करिब साढे १० बजेदेखि सुरु भएको आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त प्रयासमा करिब दुई घण्टापछि नियन्त्रणमा आएको हो। आगलागी दिउँसो १२ बजेतिर पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ।

आगलागी नियन्त्रणका लागि जितपुर, कलैया, पथलैया, अमलेखगञ्ज र वीरगन्जबाट पुगेका बारुण यन्त्रणको प्रयोग गरिएको थियो।

प्रहरीका अनुसार विद्युत् सर्टसर्किट भई सुरुमा धागोमा आगो लागेको र त्यसपछि विस्तारै उद्योगभर फैलिएको प्रारम्भिक अनुमान गरिएको छ। आगलागीबाट उद्योगमा रहेका कच्चा पदार्थ, मेसिनरी तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ।

यद्यपि, आगलागीबाट भएको क्षतिको यकिन विवरण अझै खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। उद्योगमा भएको आगलागीबाट लाखौँ रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ। क्षतिको वास्तविक मूल्यांकन अनुसन्धानपछि मात्र सार्वजनिक हुने प्रहरीको भनाइ छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस