२०८३ जेष्ठ २२ गते, शुक्रबार २१:४९

वीरगन्ज यूथ कमिटीद्वारा निःशुल्क आँखा तथा दन्त परीक्षण शिविर सम्पन्न, ३५० भन्दा बढी लाभान्वित

वीरगन्ज

वीरगन्ज यूथ कमिटीको आयोजनामा पर्साको वीरगन्जस्थित एक विद्यालयमा निःशुल्क आँखा तथा दन्त परीक्षण शिविर सफलतापूर्वक सम्पन्न भएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १०, आदर्शनगरमा रहेको श्री रामचरण साह पन्नालाल माध्यमिक विद्यालयको प्राङ्गणमा उक्त शिविर सञ्चालन गरिएको हो।

कमिटीको सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित यस स्वास्थ्य शिविरमा विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारीका साथै स्थानीय नागरिकहरू गरी ३५० भन्दा बढी व्यक्तिहरूले आफ्नो स्वास्थ्य परीक्षण गराएका छन्। शिविरमा सहभागीहरूलाई निःशुल्क आँखा परीक्षण, दन्त परीक्षण तथा आवश्यक स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको थियो।

मनोकामना डेन्टल क्लिनिक, वीरगन्ज सामुदायिक आँखा केन्द्र र श्री रामचरण साह पन्नालाल माध्यमिक विद्यालय प्रशासनको प्राविधिक तथा व्यवस्थापकीय सहयोगमा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ। शिविरमा विशेषज्ञ चिकित्सक टोलीले सहभागीहरूको दाँत र आँखाको जाँच गरी उचित उपचार तथा हेरचाहका उपायहरूका बारेमा जानकारी गराएका थिए।

कार्यक्रमका बारेमा जानकारी दिँदै वीरगन्ज यूथ कमिटीका संस्थापक अध्यक्ष बिकी कुमार गुप्ताले समाजका विपन्न तथा स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसकेका नागरिक र बालबालिकाहरूलाई लक्षित गरी शिविर आयोजना गरिएको बताए। उनले कमिटीले स्थापनाकालदेखि नै विभिन्न सामाजिक कार्य गर्दै आएको स्मरण गराउँदै आगामी दिनहरूमा पनि यस्ता जनहितकारी र परोपकारी कार्यक्रमहरूलाई थप प्रभावकारी रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

विद्यालय प्रशासन तथा स्थानीय बासिन्दाहरूले वीरगन्ज यूथ कमिटीको यस कार्यको सराहना गर्दै घरदैलोमै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएकोमा धन्यवाद ज्ञापन गरेका छन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस