२०८३ जेष्ठ २४ गते, आईतवार १३:३५

नेपाल–भारतबीच तीन बुँदे सहमति: अब नेपालीले पनि भारतमा क्यूआर कोडबाट भुक्तानी गर्न पाउने

नयाँ दिल्ली

नेपाल र भारतबीच सीमापार डिजिटल भुक्तानी, भूकम्पपछिको पुनर्निर्माण र सूचना प्रविधिका क्षेत्रमा सहकार्य गर्ने गरी तीनवटा महत्वपूर्ण विषयमा सहमति एवं समझदारी भएको छ। भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय समकक्षी एस जयशंकरबीच नयाँ दिल्लीमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्ताका क्रममा यी सहमति भएका हुन्।

वार्ताका क्रममा दुई देशबीचको आर्थिक, प्राविधिक र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा गहन छलफल भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

नेपालीलाई पनि भारतमा क्यूआर भुक्तानीको सुविधा

दुई देशबीच भएको सहमति अनुसार अब नेपाली नागरिकले पनि भारत भ्रमणका क्रममा मोबाइल फोनबाट क्यूआर कोड ‘स्क्यान’ गरेर सिधै रकम भुक्तानी गर्न पाउने भएका छन्। जेठ २०८० मा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र भारतीय राष्ट्रिय भुक्तानी निगम (एनपीसीआई) को अन्तर्राष्ट्रिय शाखाबीच भएको समझदारीका आधारमा सीमापार विद्युतीय भुक्तानी कारोबारलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने सहमति भएको हो।

यसअघि फागुन २०८० देखि नेपाल र भारतबीच सीमापार क्यूआर भुक्तानी प्रणाली सुरु भए पनि त्यसको लाभ नेपाल आउने भारतीय पर्यटक, विद्यार्थी र बिरामीले मात्र पाइरहेका थिए। भारत जाने नेपालीहरू यो सुविधाबाट वञ्चित रहेकामा नयाँ सहमतिले दुई छिमेकी देशबीच निर्बाध डिजिटल वित्तीय सम्बन्ध स्थापना हुने मार्गप्रशस्त गरेको छ।

भूकम्पपछिका ८४ परियोजना हस्तान्तरण

बैठककै अवसरमा सन् २०१५ को विनाशकारी भूकम्पपछि भारत सरकारको सहयोगमा पुनर्निर्माण गरिएका स्वास्थ्य क्षेत्रका ७२ र सांस्कृतिक क्षेत्रका १२ गरी जम्मा ८४ वटा परियोजनाहरू औपचारिक रूपमा नेपाललाई हस्तान्तरण गरिएको छ। २०७२ सालको भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले १ अर्ब अमेरिकी डलर अनुदान र ऋण सहयोग उपलब्ध गराएको थियो।

भाषा अनुवाद र डिजिटल पूर्वाधारमा नयाँ सहकार्य

त्यसैगरी प्रविधिको क्षेत्रमा सहकार्य बढाउन काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङको ‘सेन्टर फर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर एन्ड आर्टिफिसियल इन्टेलिजेन्स’ र भारतको ‘डिजिटल इन्डिया भाषिनी डिभिजन’ बीच अर्को समझदारी भएको छ। यस अन्तर्गत भाषा अनुवाद गर्ने ‘भोइस फर्स्ट’ प्लाटफर्मका लागि संयुक्त रूपमा राष्ट्रिय डिजिटल पूर्वाधार निर्माण गरिनेछ।

द्विपक्षीय सम्बन्ध र इन्धन आपूर्तिको सुनिश्चितता

बैठकमा दुवै देशका परराष्ट्रमन्त्रीहरूले व्यापार तथा आर्थिक सहयोग, सीमापार कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन र खेलकुदका माध्यमबाट जनस्तरको सम्बन्ध प्रवर्द्धन गर्ने विषयमा बृहत् छलफल गरेका थिए।

भारतीय विदेशमन्त्री जयशंकरले आपसी प्रगति, समृद्धि र कल्याणका लागि नेपालसँग मिलेर काम गर्ने भारतको प्रतिबद्धता दोहोर्‍याएका छन्। पश्चिम एसिया संकटका बीच पनि भारतले नेपाललाई इन्धनको आपूर्ति निरन्तर सुनिश्चित गरेको उल्लेख गर्दै उनले आगामी दिनमा आर्टिफिसियल इन्टेलिजेन्स, स्टार्टअप, सूचना प्रविधि र नवीकरणीय ऊर्जा जस्ता क्षेत्रमा नेपालसँग सहकार्य गर्न भारत उत्सुक रहेको बताए।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस