२०८३ जेष्ठ २४ गते, आईतवार १५:०६

मोतिहारीमा नक्कली प्रहरी बनेर ठगी गर्ने ‘नटवरलाल’ पक्राउ, ३५ लाखको ठगीमा संलग्न रहेको खुलासा

मोतिहारी

भारतको बिहार राज्यस्थित मोतिहारीमा नक्कली प्रहरी बनेर सर्वसाधारणलाई ठगी तथा लुटपाट गर्ने एक जना कुख्यात ‘नटवरलाल’ लाई प्रहरीले पक्राउ गरेको छ। मोतिहारी जिल्लाको सुगौली थाना प्रहरीले विशेष सूचनाका आधारमा त्वरित कारबाही गर्दै सम्भावित ठूलो लुटपाटको योजनालाई समेत असफल बनाइदिएको छ।

सुगौली थानाका प्रमुख अनीश कुमार सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले भटहाँ गाउँमा छापा मारी नितेश कुमार नामक आरोपीलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ परेका नितेशले प्रहरीको पोशाक लगाएर सर्वसाधारणलाई डर त्रास देखाई लुटपाट र ठगी धन्दा चलाउँदै आएका थिए।

प्रहरीले आरोपीको घरमा छापा मार्दा दुईवटा स्टार (सई दर्जा) लागिएको प्रहरीको बर्दी, टोपी, एउटा चक्कु र टर्च लाइट बरामद गरेको छ। यी सामग्रीहरू उनले आफ्नो आपराधिक गतिविधिमा प्रयोग गर्ने गरेको प्रहरीले पुष्टि गरेको छ।

प्रारम्भिक सोधपुछका क्रममा पक्राउ परेका नितेशको पुराना आपराधिक इतिहास समेत खुलासा भएको छ। यसअघि उनी पटनामा भएको ३५ लाख भारतीय रुपैयाँको ठगी काण्डमा समेत संलग्न रहेको पाइएको छ। यसबाट उनी संगठित रूपमा अपराधमा सक्रिय रहेको स्पष्ट हुन्छ।

प्रहरीको फन्दामा परेपछि आरोपी नितेशले आफ्ना अन्य सहयोगीहरूको समेत नाम ओकलेका छन्। उनको बयानका आधारमा प्रहरीले थप दुई जना शंकास्पद व्यक्तिको पहिचान गरेको छ। यस प्रकरणमा प्रहरीले तीन जना नामजद र अन्य तीन अज्ञात आरोपीहरू विरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको छ।

पक्राउ परेका नितेशलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी न्यायिक हिरासतका लागि मोतिहारी पठाइएको छ भने घटनामा संलग्न भई फरार रहेका अन्य अभियुक्तहरूको खोजीका लागि प्रहरीले छापा मार्ने कार्य तीव्र बनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस