वीरगन्ज
न्यूनतम खाद्य स्वच्छता मापदण्डसमेत पालना नगरी उपभोक्ताको स्वास्थ्यमाथि सिधै खेलबाड गरिरहेका वीरगन्जका ठूला तथा नाम चलेका होटल र मिठाई पसलहरू खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको फन्दामा परेका छन्। उपभोक्ता हित संरक्षण मञ्च नेपाल पर्साको पहलपछि “मोबाइल फुड ल्याब भ्यान” सहित खटिएको सरकारी टोलीले वीरगन्जका प्रतिष्ठित भनिने होटल तथा रेस्टुरेन्टहरूमा छापा मार्दा चरम लापरबाही र गम्भीर विकृति फेला पारेको हो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय वीरगन्जका प्रमुख सुरेश सिंहको नेतृत्वमा शनिबार गरिएको विशेष अनुगमनका क्रममा वीरगन्जका अनमोल स्विट्स, होटल मकालु प्रालि, होटल पुजन प्रालि र मेजवानी स्विट्सलगायतका व्यवसायहरू मुख्य निसानामा परेका छन्। बाहिर आकर्षक र महँगो देखिने यी स्थापित ब्रान्डहरूको भान्सा (किचेन) भित्रको कुरुप र अस्वस्थकर यथार्थ अनुगमनका क्रममा छताछुल्ल भएको छ।

किचेन फोहोर, बिरामी बनाउने तेलको पुनर्प्रयोग
अनुगमन टोलीले वीरगन्जका यी चारवटै ठूला व्यावसायिक प्रतिष्ठानहरूमा छापा मार्दा मानव स्वास्थ्यका लागि अत्यधिक हानिकारक मानिने ‘मन्द विष’ जस्तै बनेको तेल प्रयोग भइरहेको फेला पारेको छ। अनमोल, मकालु, पुजन र मेजवानी स्विट्समा धेरै पटक तताएर कालो र विषाक्त भइसकेको तेलमा खाद्य सामग्रीहरू पकाइरहेको भेटिएपछि अनुगमन टोलीले उक्त तेल तुरुन्त जफत गरी नष्ट गरेको छ।
यसका साथै यी होटल तथा मिठाई पसलहरूको भान्सामा दुर्गन्ध र सरसफाइको अभाव पाइएको छ। खाद्य सामग्रीहरू असुरक्षित र खुला रूपमा राखिएको, खुला डस्टविन प्रयोग गरिएको र कामदारहरूको व्यक्तिगत सरसफाइमा कुनै ध्यान नदिइएको भेटिएको छ। नाम चलेका र महँगो मूल्य लिने होटलहरूले नै उपभोक्तालाई रोग बाँडिरहेको यो तथ्यले बजारको भयावह अवस्थालाई उजागर गरेको छ।

चेतावनी अटेर गर्नेलाई कानुनी डन्डा चलाउन माग
उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय सदस्य अजित भुजेलले गत वर्ष पनि यस्ता होटल तथा रेस्टुरेन्टहरूको स्तरियकरण (ग्रेडिङ) गरिए पनि उनीहरूमा कुनै सुधार नदेखिनु दुःखद भएको बताउनुभयो। उपभोक्ता अधिकारकर्मी प्रकाश शाहले वीरगन्जका यी व्यवसायीहरूले पटक–पटकको चेतावनीलाई समेत अटेर गर्दै उपभोक्ता अधिकारको धज्जी उडाएकाले अब सामान्य निर्देशन मात्र दिएर नपुग्ने बताउनुभयो।
पटक-पटक उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने अनमोल स्विट्स, होटल मकालु, होटल पुजन र मेजवानी जस्ता व्यवसायहरूलाई भारी जरिवाना गर्ने, उनीहरूको स्तर (ग्रेड) घटाउने र अटेर गरेमा सञ्चालन अनुमति (लाइसेन्स) नै खारेज गरी कडा कानुनी कारबाही अघि बढाउन स्थानीय उपभोक्ता र अधिकारकर्मीहरूले जोडदार माग गरेका छन्।

अनुगमन टोलीमा विभागका केमिस्ट पवन कुमार कुर्मी, खाद्य निरीक्षकहरू जगत प्रकाश चौधरी, श्रवण साह, उपभोक्ता अधिकारकर्मी प्रकाश कुमार शाह तथा पत्रकार अभिलाष गुप्ता लगायतको सहभागिता रहेको थियो। टोलीले यी व्यवसायहरूलाई तत्काल सुधार नगरे कडा कानुनी प्रक्रिया अपनाउने चेतावनी दिएको छ।











