वीरगन्ज-
पर्साको वीरगन्ज–१३, राधेमाईस्थित साउथ जोन माध्यमिक विद्यालयले विद्यालय शिक्षाको इतिहासमै एक ऐतिहासिक र क्रान्तिकारी कदम चालेको छ। निजी विद्यालयहरूले केवल शुल्क मात्र लिन्छन् भन्ने आम बुझाइलाई चिर्दै साउथ जोनले शैक्षिक सत्रमा अध्ययनरत आफ्ना करिब १ हजार ८ सय २५ जना विद्यार्थीकै पूर्ण सुरक्षाको जिम्मेवारी लिँदै स्वास्थ्य र दुर्घटना बीमा गराएको छ।
अभिभावकमाथि पर्ने आकस्मिक आर्थिक भारलाई शून्यमा झार्ने र विद्यार्थीको जीवन रक्षालाई पहिलो प्राथमिकता दिने उद्देश्यले विद्यालयले यो साहसिक व्यवस्था लागू गरेको हो।
प्याब्सन पर्सा अध्यक्ष सरोज चौधरीको ‘गेम चेन्जर’ पहल
प्याब्सन पर्साका अध्यक्ष एवं साउथ जोन माध्यमिक विद्यालयका सञ्चालक सरोज प्रसाद चौधरीको विशेष दूरदर्शी सोच र पहलमा विद्यालयले ‘नेको इन्स्योरेन्स लिमिटेड’ सँग यो सम्झौता गरेको हो। यस ऐतिहासिक सम्झौता अन्तर्गत प्रत्येक विद्यार्थीको कुल १ लाख ३ हजार ५ सय रुपैयाँ बराबरको स्वास्थ्य तथा दुर्घटना बीमा गरिएको छ, जसको सम्पूर्ण व्यवस्थापन विद्यालय आफैँले गरेको छ।
घरदेखि विद्यालयसम्म, खेलमैदानदेखि बाटोभरी: २४सै घण्टा सुरक्षा कवच
यो बीमाको सबैभन्दा बलियो र सकारात्मक पक्ष भनेको यो २४सै घण्टा लागू हुनेछ। विद्यार्थी विद्यालयमा हुँदा मात्र होइन, घरमा बस्दा, बाटोमा हिँड्दा, खेलकुदका क्रममा वा अन्य जुनसुकै समय र स्थानमा दुर्घटनामा परे पनि उपचार खर्च शतप्रतिशत दाबी गर्न सकिनेछ।
यस्तो छ राहत प्याकेज:
- रु. १ लाखको दुर्घटना बीमा: कुनै पनि दुर्घटनामा परेमा प्रति घटना अधिकतम २० हजार रुपैयाँसम्म र वर्षमा कुल १ लाख रुपैयाँसम्मको सम्पूर्ण उपचार खर्च बीमा कम्पनीले व्यहोर्नेछ।
- रु. ३,५०० को स्वास्थ्य बीमा: दुर्घटना मात्र नभई सामान्य बिरामी पर्दा समेत ओपीडी (OPD) टिकट र औषधोपचारका लागि वार्षिक ३ हजार ५ सय रुपैयाँसम्म दाबी गर्न पाइनेछ।
अभिभावकलाई ठूलो राहत, शिक्षा क्षेत्रमा नयाँ बहस
साउथ जोनको यो कदमले निजी शिक्षा क्षेत्रमा व्यापार मात्र होइन, सामाजिक उत्तरदायित्व र आत्मीयता पनि हुन्छ भन्ने बलियो उदाहरण पेश गरेको छ। आकस्मिक स्वास्थ्य समस्या वा दुर्घटना हुँदा आर्थिक अभावका कारण उपचारमा समस्या झेल्नुपर्ने बाध्यतालाई यसले सधैँका लागि अन्त्य गरिदिएको छ।
विद्यालयको यो क्रान्तिकारी र कल्याणकारी सुरुवातको यतिबेला वीरगन्जका अभिभावक, नागरिक समाज र शिक्षा क्षेत्रका अगुवाहरूले खुलेर प्रशंसा गरिरहेका छन्। यो अभ्यासलाई अब देशैभरका अन्य विद्यालयहरूले पनि अनुशरण गर्नुपर्ने आवाज उठ्न थालेको छ।











