काठमाडौँ-
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अंगालेको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना नेतामाथि उठेका प्रश्नको निष्पक्ष छानबिनपछि मात्रै जिम्मेवारीमा फर्काउने अभ्यासलाई निरन्तरता दिएको छ।
व्यापारी दीपक भट्टसँगको व्यावसायिक सम्बन्ध र सेयर खरिदबारे सार्वजनिक रूपमा प्रश्न उठेपछि गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङ पुनः गृहमन्त्री नियुक्त भएका छन्। उनको पद तथा गोपनीयताको शपथ आज दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
गुरुङमाथि सम्पत्ति तथा लगानीको स्रोतबारे प्रश्न उठेपछि उनले नैतिक जिम्मेवारी स्वीकार गर्दै वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। उनी २६ दिन मात्र गृहमन्त्रीको जिम्मेवारीमा रहेका थिए।
विवाद सार्वजनिक भएपछि सरकारले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिलाई गुरुङसँग सम्बन्धित आरोपहरूको तथ्यगत अध्ययन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको थियो।
समितिले विस्तृत अध्ययन, सम्पत्ति विवरणको परीक्षण तथा सम्बन्धित कागजातहरूको विश्लेषणपछि गुरुङमाथि लगाइएका आरोप पुष्टि हुन नसकेको निष्कर्ष निकालेको छ। ४५ पृष्ठ लामो प्रतिवेदनले गुरुङको चल-अचल सम्पत्तिलाई वैध ठहर गर्दै सार्वजनिक रूपमा उठाइएका आरोपहरू प्रमाणित नभएको उल्लेख गरेको छ।
छानबिन समितिको प्रतिवेदनपछि गुरुङ पुनः गृहमन्त्री नियुक्त भएका हुन्। रास्वपाले सुरुदेखि नै आरोप लागेका व्यक्तिमाथि निष्पक्ष छानबिन हुनुपर्ने र छानबिनको निष्कर्षका आधारमा निर्णय लिनुपर्ने अडान राख्दै आएको छ। गुरुङको पुनर्नियुक्तिलाई पनि सोही प्रक्रियाको परिणामका रूपमा हेरिएको छ।
रास्वपाले भ्रष्टाचार र अनियमितताका विषयमा कुनै सम्झौता नगर्ने तथा सार्वजनिक पदमा रहेका व्यक्तिमाथि प्रश्न उठेमा कानुनी र संस्थागत प्रक्रियामार्फत सत्यतथ्य बाहिर ल्याउनुपर्ने आफ्नो नीति पुनः स्थापित भएको दाबी गरेको छ।












