काठमाडौँ–
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको इतिहासकै सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको र त्यसमा संलग्न दोषीहरू चाँडै नै न्यायको कठघरामा पुग्ने दाबी गरेका छन्। प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन्।
विगतमा देशलाई मुठ्ठीमा लिएर राजनीति र राजनीतिक दलहरूलाई विकृत बनाउने पात्रहरूमाथि सरकारी निकायले अनुसन्धान गरिरहेको उनले उल्लेख गरे। वित्तीय अपराधको अनुसन्धान भइरहेका बेला सरकारलाई कमजोर बनाउन र सुशासनको अभियानलाई रोक्न विभिन्न समूहहरू सक्रिय भइरहेको तर्फ उनले संसद्को ध्यानाकर्षण गराए।
बजेट र करका दरहरूलाई लिएर भइरहेका आलोचनाको खण्डन गर्दै अर्थमन्त्री वाग्लेले सरकारमाथि नियोजित रूपमा हिलो छ्याप्ने प्रयास भइरहेको आरोप लगाए। सुशासनको नारासहित आएको वर्तमान सरकारलाई बदनाम गराउन केही विषयलाई मात्रै अतिरञ्जित रूपमा उचालिएको उनको भनाइ थियो।
“धेरैले राम्रो भनेको बजेट ल्याएको सरकार र अर्थमन्त्रीमाथि कुनै आधार र प्रमाणविना आरोप लगाइएको छ,” अर्थमन्त्री वाग्लेले समिति बैठकमा भने, “जुन सरकार सुशासनका लागि कडाइका साथ अघि बढिरहेको छ, त्यसैलाई लक्षित गरेर प्रहार गरिएको छ।”
करका दर परिवर्तनमा स्वार्थ समूहको प्रभाव रहेको भनी लगाइएका आरोपहरू ‘प्रथम दृष्टि’ (Prima Facie) मै खण्डित हुने प्रकृतिको रहेको दाबी अर्थमन्त्रीले गरे। आफूले कुनै गल्ती नगरेको र नियत पूर्ण रूपमा सफा रहेको स्पष्ट पार्दै उनले सरकारको छवि धुमिल बनाउन मात्रै यस्ता प्रचारबाजी गरिएको आशंका व्यक्त गरे।
सचेत रहन आग्रह गर्दै उनले थपे, “सेतो कपडामा हिलो छ्यापेपछि जति धोए पनि केही दाग बाँकी रहन सक्छ। छवि केही हदसम्म भए पनि धुमिल बनोस् र सरकारलाई कमजोर बनाउने प्रयास सफल होस् भन्ने उद्देश्यले नै यस्तो प्रहार गरिएको देखिन्छ। यसप्रति माननीय सदस्यज्यूहरू सचेत रहनुहोला।”
राजनीतिलाई विकृत बनाउने पात्रहरू र उनीहरूको आश्रयमा रहेका समूहहरूको सलबलाहट बढ्न सक्ने भन्दै उनले संसद् र नागरिक दुवै सचेत हुनुपर्नेमा जोड दिए। सरकार सुशासन कायम गर्न दृढतापूर्वक अघि बढिरहेकाले कुनै पनि भ्रममा नपर्न उनले स्पष्ट पारे।












