२०८३ जेष्ठ २७ गते, बुधबार १७:२६

एमाले छाडेर अन्य दलमा प्रवेश गरेका आठ वडाध्यक्ष पदमुक्त

काठमाडौँ

निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गरेका आठ जना स्थानीय जनप्रतिनिधि (वडाध्यक्ष) को पद स्वतः रिक्त भएको घोषणा गरेको छ। २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट निर्वाचित भएका ती वडाध्यक्षहरूले दल परिवर्तन गरेपछि आयोगले उनीहरूलाई पदमुक्त गरेको हो।

एमाले केन्द्रीय सचिवालयको निर्णय र सिफारिसका आधारमा छानबिन गरी आयोगले जेठ २६ गते ती जनप्रतिनिधिहरू निर्वाचित भएका पालिकाको पद स्वतः रिक्त भएको निर्णय गरेको हो। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम यो कारबाही प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ।

आयोगको निर्णय अनुसार कारबाहीमा पर्नेहरूमा सबैभन्दा बढी कोसी प्रदेशका जनप्रतिनिधि रहेका छन्। ओखलढुंगाको मोलुङ गाउँपालिका–१ का वडाध्यक्ष कमलबहादुर बानिया, मोलुङ–६ का वडाध्यक्ष कमल तामाङ र चम्पादेवी गाउँपालिका–७ का वडाध्यक्ष सुरेशकुमार थापा पदमुक्त भएका छन्।

यसैगरी मोरङको लेटाङ नगरपालिका–४ का वडाध्यक्ष रामकुमार श्रेष्ठ र रंगेली नगरपालिका–१ का वडाध्यक्ष महेशकुमार खनालको पद पनि रिक्त भएको निर्वाचन आयोगले सार्वजनिक गरेको सूचनामा उल्लेख छ।

एमाले छाडेका कारण बागमती र लुम्बिनी प्रदेशका वडाध्यक्षहरू पनि कारबाहीमा परेका छन्। लुम्बिनी प्रदेश अन्तर्गत पाल्पाको माथागढी गाउँपालिका–१ का वडाध्यक्ष राजकुमार पन्थी र दाङको घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष मधुसुदन शर्मा पदमुक्त भएका छन्। त्यस्तै बागमती प्रदेशको ललितपुरस्थित बागमती गाउँपालिका–७ का वडाध्यक्ष होमप्रसाद बजगाईंको पद पनि रिक्त भएको छ।

सम्बन्धित राजनीतिक दलले आफ्ना जनप्रतिनिधिले दल त्याग गरी अन्य दलमा प्रवेश गरेको प्रमाणित निर्णयसहित जानकारी गराएपछि आयोगले नियमावली अनुसार सूचना प्रकाशित गरेको हो। एमालेबाट निर्वाचित यी जनप्रतिनिधिहरू पदमुक्त भएसँगै सम्बन्धित वडाहरूमा वडाध्यक्षको पद रिक्त हुन पुगेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस