जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना, विभेदकारी निर्णय तत्काल खारेज गर्न माग
वीरगन्ज–
सरकारी सूचना तथा विज्ञापन वितरणमा सरकारले अवलम्बन गरेको नीति विभेदकारी र स्वेच्छाचारी भएको भन्दै पर्साका पत्रकारहरू आन्दोलनमा उत्रिएका छन्। नेपाल पत्रकार महासंघ पर्सा शाखाको आह्वानमा बुधबार जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि विरोध प्रदर्शनसहित एक घण्टे धर्ना कार्यक्रम आयोजना गरिएको छ।
प्रेसको संवैधानिक स्वतन्त्रता, सञ्चारमाध्यमको अधिकार तथा सरकारी विज्ञापनमा समान पहुँचको माग गर्दै पत्रकारहरूले बिहान ११ बजेदेखि दिउँसो १२ बजेसम्म धर्ना दिएका हुन्।
धर्ना कार्यक्रममा बोल्दै पत्रकार सम्बद्ध नेताहरूले सरकारी सूचना तथा विज्ञापन वितरणसम्बन्धी हालै लागू गरिएको निर्णयले सञ्चार क्षेत्रमा अस्वस्थ वर्गीकरण र असमानता सिर्जना गरेको आरोप लगाए। उनीहरूले राज्यको स्रोत र सूचनामा सबै सञ्चारमाध्यमको समान, निष्पक्ष र न्यायोचित पहुँच सुनिश्चित हुनुपर्नेमा जोड दिँदै उक्त निर्णय तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन्।
सञ्चारकर्मीहरूका अनुसार सरकारको पछिल्लो कदमले स्वतन्त्र पत्रकारिता र निष्पक्ष सूचना प्रवाहको वातावरणमा गम्भीर र नकारात्मक असर पुर्याउने देखिन्छ। महासंघले स्थानीय प्रशासनमार्फत सरकारको ध्यानाकर्षण गराउँदै प्रेसमैत्री वातावरण कायम गर्न र सञ्चार क्षेत्रको स्वतन्त्रताको संरक्षण गर्न आग्रह गरेको छ।
पर्सामा क्रियाशील विभिन्न छापा, इलेक्ट्रोनिक र अनलाइन सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको उक्त विरोध कार्यक्रममा माग पूरा नभए थप सशक्त र कडा आन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने चेतावनी समेत दिइएको छ।











