२०८३ जेष्ठ २८ गते, बिहीबार १०:५६

रौतहटमा ९० लाख बढीको अवैध फर्सीको बिउ बरामद, स्थिति नियन्त्रणमा लिन ६ राउण्ड अश्रुग्याँस प्रहार

रौतहट

रौतहट प्रहरीले नेपाल–भारत सीमावर्ती क्षेत्रबाट झन्डै एक करोड मूल्य बराबरको अवैध चिनियाँ फर्सीको बिउ बरामद गरेको छ। विशेष सूचनाका आधारमा खटिएको सुरक्षाकर्मीको संयुक्त टोलीले बुधबार साँझ रौतहटको बौधीमाई नगरपालिका–७ बाडका बंकुल टोल क्षेत्रबाट सो परिमाणको बिउ बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) वसन्त गौतमका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बुधबार साँझ साढे ७ बजे सीमावर्ती बाटो नजिकै त्रिपालले ढाकेर लुकाइछिपाइ राखिएको अवस्थामा ३२२ बोरा (कुल १२ हजार ८८० किलोग्राम) फर्सीको बिउ फेला पारेको हो। बरामद गरिएको बिउको अनुमानित बजार मूल्य ९० लाख १६ हजार रुपैयाँ रहेको छ।

बरामद सामग्रीलाई आवश्यक कारबाहीका लागि बिहीबार जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको डिएसपी गौतमले जानकारी दिए।

प्रहरीले अवैध बिउ नियन्त्रणमा लिने क्रममा तस्कर समूह र केही स्थानीय व्यक्तिहरूले अवरोध सिर्जना गर्दै सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेका थिए। स्थिति तनावपूर्ण बनेपछि भीडलाई तितरवितर पार्न र स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड अश्रुग्याँस प्रहार गर्नु परेको थियो।

ढुंगामुढा र सो क्रममा भएको झडपमा परी तीन जना स्थानीय र तीन जना प्रहरी कर्मचारी गरी कुल ६ जना सामान्य घाइते भएका छन्। घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालले सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार र तस्करी नियन्त्रणका लागि निगरानी र कारबाहीलाई थप कडा पारिएको बताएका छन्। यस घटना र यसमा संलग्न व्यक्तिहरूको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पछिल्लो समय भारतका विभिन्न प्रान्तहरूमा चिनियाँ फर्सीको बिउलाई ‘डाइट’ (स्वास्थ्यवद्र्धक खाजा) को रूपमा प्रयोग गर्ने क्रम बढेसँगै यसको तस्करी मौलाएको पाइएको छ। तस्करहरूले रौतहट र बाराका विभिन्न चोर नाकाहरू प्रयोग गरी चीनबाट आयातित यस्ता बिउ अवैध रूपमा भारत पुर्‍याउने गरेका छन्।

यसअघि करिब एक महिना अगाडि पनि नेपालबाट भारततर्फ तस्करी भइरहेको करिब ७० लाख रुपैयाँ बराबरको फर्सीको बिउ भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भारतको घोडासहन थाना क्षेत्रबाट बरामद गरेको थियो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस