काठमाडौं –
नेपाल प्रहरीले देशैभर ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरूको सरुवा तथा काज हेरफेर गरेको छ। प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले बुधबार एकैपटक ५०९ जना इन्स्पेक्टरहरूको सरुवा गरेको हो।
विभागका अनुसार जनपद प्रहरी समूहका ५०९ जना प्रहरी निरीक्षकहरूलाई देशका विभिन्न कार्यालय, इलाका, प्रभाग र विभागहरूमा सरुवा तथा काज जिम्मेवारी तोकिएको छ।
सरुवा भएका प्रहरी अधिकारीहरूले आगामी २०८३ साल असार महिनादेखिको तलब र भत्ता सरुवा भएको नयाँ दरबन्दीबाट पाउने गरी व्यवस्था मिलाइएको मानवस्रोत विकास विभागले जनाएको छ।
नियमित प्रक्रिया र आवश्यकता अनुसार जिम्मेवारी हेरफेर
प्रहरी प्रधान कार्यालयले यो सरुवा नियमित प्रक्रिया र आवश्यकता अनुसार गरिएको स्पष्ट पारेको छ। सरुवा सूची अनुसार विभिन्न जिल्लाका कमाण्डिङ सम्हाल्ने इलाका प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय, प्रहरी प्रभाग, गण, गुल्म तथा प्रधान कार्यालयका विभिन्न विभागहरूमा कार्यरत इन्स्पेक्टरहरूको जिम्मेवारी फेरबदल भएको हो।
लामो समयदेखि एउटै कार्यालयमा कार्यरत रहेका र कमाण्ड जिम्मेवारी पुरा गरेका अधिकारीहरूलाई नयाँ कार्यक्षेत्रमा खटाइएको छ।












