२०८३ जेष्ठ ३१ गते, आईतवार १२:४३

मोबाइल नष्ट र टेम्पो खसालिएको घटनामा हर्क साम्पाङको प्रश्न: गृहमन्त्रीज्यू, दोषीलाई कति बक्सिस दिइयो?

वीरगन्ज

श्रम संस्कृति पार्टीका सभापति एवं धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले पछिल्ला दुई विवादास्पद घटनालाई लिएर सरकार र गृह प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठाउनुभएको छ।

सिरहामा विद्यार्थीका मोबाइल पानीमा डुबाएर नष्ट गरिएको र कैलालीमा वन कर्मचारीले महिलाको टेम्पो भिरबाट खसालेको घटनालाई लिएर उहाँले सामाजिक सञ्जालमार्फत गृहमन्त्रीमाथि व्यङ्ग्यसहित आक्रोश पोख्नुभएको हो।

गृहमन्त्रीलाई सीधा सम्बोधन गर्दै साम्पाङले फेसबुकमा लेख्नुभएको छ, “गृह मन्त्रीज्यू… मोबाइल पानीमा डुबाई नष्ट गर्नेलाई कति लाख पुरस्कार दिइयो ? अनि टेम्पो भीरबाट धकेली झार्नेलाई कति दिने बक्सिस ?” उहाँले राज्य संयन्त्रबाटै सर्वसाधारणमाथि ज्यादती भइरहेको उल्लेख गर्दै यी घटनाको निष्पक्ष अनुसन्धान र जवाफदेहिताको माग समेत गर्नुभएको छ।

सिरहा र कैलाली घटनाको विवाद

हालै सम्पन्न एसईई र कक्षा १२ को परीक्षाका क्रममा सिरहाका विभिन्न परीक्षा केन्द्रबाट मर्यादाविपरीत भन्दै विद्यार्थीहरूबाट ४९६ वटा मोबाइल फोन जफत गरिएको थियो। जिल्ला प्रहरी कार्यालय सिरहाले ती जफत गरिएका मोबाइलहरू कानुनी प्रक्रिया मिचेर पानीमा डुबाएर नष्ट गरेपछि कानुनी राज्य र नागरिकको सम्पत्तिको अधिकारमाथि गम्भीर प्रश्न उठेको छ।

यो मामला सर्वोच्च अदालतसम्म पुगिसकेको छ। अदालतमा दायर रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म जफत गरिएका मोबाइल र तिनमा रहेका डाटा नष्ट नगर्नू/नगराउनू भनी अन्तरिम आदेश जारी गरिसकेको छ।

त्यस्तै, अर्को घटना कैलालीको गोदावरी नगरपालिका–४ बासपानीमा घटेको हो। स्थानीय धनादेवी धामीले जीविकोपार्जनका लागि चलाउँदै आएको टेम्पो वन कर्मचारीहरूले बलपूर्वक भिरबाट खसालिदिएका थिए। सामाजिक सञ्जालमा उक्त घटनाको भिडियो सार्वजनिक भएपछि वन प्रशासन र सरकारको चौतर्फी आलोचना भइरहेको छ।

राज्यका जिम्मेवार निकाय (प्रहरी र वन कर्मचारी) बाटै भएका यी दुवै गैरकानुनी र अमानवीय कार्यको चौतर्फी विरोध भइरहेको छ। पीडितलाई न्याय दिन र दोषी कर्मचारीमाथि कडा कानुनी कारबाही गर्न विभिन्न क्षेत्रबाट सरकारमाथि दबाब बढ्दै गएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस