२०८३ असार ७ गते, आईतवार १६:०१

सुविधाको मल सिरहामा कालोबजारी हुँदै

सिरहा –

नेपाल सरकारले किसानका लागि अनुदानमा उपलब्ध गराएको मल कालोबजारी भइरहेको खुलासा भएको छ। सिरहा जिल्लाको धनगढीमाई नगरपालिकामा सञ्चालित एक किराना पसलबाट अनुदानको १३ बोरा मल बरामद भएपछि सुविधाको मल कालोबजारी भइरहेको तथ्य बाहिर आएको हो।

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालको नेतृत्वमा रहेको अनुगमन टोलीले नगरपालिकाको वडा नं. १० मा सञ्चालित प्रधान किराना पसलबाट बिक्रीका लागि राखिएको ३३ किलोग्राम तौलका १३ बोरा मल आज बरामद गरेको छ।

भरत प्रधान सञ्चालक रहेको उक्त किराना पसलमा सुविधाको युरिया मल बिक्री भइरहेको पाइएपछि आवश्यक अनुसन्धानका लागि मल नियन्त्रणमा लिइएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिनुभयो।

नेपाल सरकारले किसानका लागि उपलब्ध गराएको सुविधाको युरिया मल किराना पसलबाट बरामद हुनु अत्यन्त गम्भीर विषय भएकाले अबको अनुसन्धान त्यसतर्फ केन्द्रित गरिएको उहाँले बताउनुभयो।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गरिएको बजार अनुगमनमा राष्ट्रिय अनुसन्धान विभागका डीएसपी रिजन यादव तथा कृषि सामग्री कार्यालय लहानका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस