२०८३ असार ६ गते, शनिबार १६:०४

नगरप्रमुख सिंह निलम्बन भएको एक सातामै कर्मचारीले तलब पाए

वीरगन्ज-

वीरगन्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह निलम्बन भएको एक साता नबित्दै महानगरपालिकाका कर्मचारीहरूले तलब पाएका छन्। महानगरपालिकाको कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेको केहि दिन भित्र उपप्रमुख इम्तीयाज आलमले कर्मचारीहरुलाई तलब वितरण गर्न सफल भएका छन् ।

महानगरपालिकाको लेखा प्रशासन महाशाखाले उपलब्ध गराएको जानकारीअनुसार आज ४६७ जना कर्मचारीलाई ५ करोड ५५ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम तलबस्वरूप वितरण गरिएको छ। महानगरपालिकामा कार्यरत ५९ जना निजामती कर्मचारी, १४२ जना स्थायी सेवा कर्मचारी, १३३ जना सरसफाइ कर्मचारीलाई तीन महिनाको तथा १२० जना करार सेवाका कर्मचारी र १३ जना करारका सवारी चालकलाई चार–चार महिनाको तलब वितरण गरिएको आर्थिक प्रशासन महाशाखाका लेखा अधिकृत रुपनारायण राउतले जानकारी दिनुभयो।

उहाँले बाँकी रहेका ६८४ जना कर्मचारीहरूको खातामा आज–भोलिमै तलब रकम जम्मा हुने बताउनुभयो। पाँच महिनादेखिको तलब बाँकी रहेका कर्मचारीको खातामा चार महिनाको तथा चार महिनादेखिको तलब बाँकी रहेकाको खातामा तीन महिनाको तलब पठाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो।

महानगरपालिकामा कार्यरत स्थायी कर्मचारीहरूको चार महिनादेखि र करारका कर्मचारीहरूको पाँच महिनादेखि तलब रोकिएको थियो। आज पहिलो चरणमा स्थायी कर्मचारीहरूलाई तीन महिनाको र करारका कर्मचारीहरूलाई चार महिनाको तलब निकासा गरिएको लेखा अधिकृत राउतले जानकारी दिनुभयो।

महानगरपालिकाले प्रतिमहिना १ हजार १५१ जना कर्मचारीलाई तलबबापत करिब ३ करोड ७६ लाख रुपैयाँ भुक्तानी गर्दै आएको छ।

महानगरपालिका क्षेत्रको सरसफाइ तथा फोहर व्यवस्थापनको जिम्मेवारी पाएको निजी साझेदार एनके इन्टरनेशनल प्रा.लि. को समेत पाँच महिनादेखिको भुक्तानी बाँकी रहेको स्रोतले जनाएको छ। निजी साझेदारको भुक्तानी पूर्ण रूपमा फर्छ्योट गर्न महानगरपालिका हाल असमर्थ रहेकाले तत्कालका लागि दुईदेखि तीन महिनाको बक्यौता रकम भुक्तानी गर्न निमित्त नगरप्रमुखले निर्देशन दिएको स्रोतको भनाइ छ।

महानगरपालिकाका नगरप्रमुखको कुप्रबन्धन तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवासम्बन्धी किचलोका कारण कर्मचारीहरूले समयमै तलब नपाएको स्रोतले जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस