२०८३ असार ४ गते, बिहीबार १५:०९

प्रधानमन्त्री कार्यालयमा दिनभर ‘गोप्य फाइल’को छानबिन, रात पर्दै पासपोर्ट विभागका डीजी अख्तियारको हिरासतमा

काठमाडौं –

राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई सोमबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइयो। बोलावट सामान्य थिएन। उनलाई पासपोर्ट खरिद प्रकरणसँग सम्बन्धित सम्पूर्ण फाइल लिएर उपस्थित हुन भनिएको थियो।

स्रोतका अनुसार बिहान १० बजे प्रधानमन्त्री कार्यालय पुगेका अर्यालमाथि दिनभरि गोप्य रूपमा फाइलमाथि छानबिन चल्यो। मध्यान्ह १२ बजेतिर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई स्वयं प्रधानमन्त्री कार्यालय पुगेपछि घटनाक्रमले थप रहस्यमय मोड लियो।

प्रधानमन्त्री कार्यालयका उच्च अधिकारी र अख्तियारका अनुसन्धान अधिकृतहरूले घण्टौंसम्म पासपोर्ट खरिदसम्बन्धी कागजात केलाए। बन्द कोठाभित्र के-के प्रश्न सोधिए, कुन-कुन फाइलमाथि शंका गरियो र अनुसन्धानको केन्द्रमा के थियो भन्ने विषय अझै गोप्य राखिएको छ।

तर साँझ पर्दासम्म स्थिति पूर्णतः बदलिएको थियो।

उच्च स्रोतका अनुसार दिनभरको अध्ययन र प्रारम्भिक छानबिनपछि प्रधानमन्त्री कार्यालयले अर्याललाई अख्तियारको जिम्मा लगाउने निर्णय गर्यो। राति करिब ९ बजेतिर अख्तियारका सुरक्षाकर्मीहरू सक्रिय भए र महानिर्देशक अर्यालसँगै राहदानी विभागका सूचना प्रविधि निर्देशक सुनिलकुमार केसीलाई नियन्त्रणमा लिएर आयोगको कार्यालयतर्फ लगे।

पासपोर्ट खरिद प्रक्रियामा अनियमितता भएको आशंकामा अख्तियारले अनुसन्धान अगाडि बढाइरहेको छ। तर अनुसन्धानको घेरामा रहेका विषय, सम्भावित आर्थिक चलखेल र संलग्न अन्य व्यक्तिहरूको नामबारे आयोगले औपचारिक रूपमा मुख खोलेको छैन।

प्रधानमन्त्री कार्यालयको ‘गोप्य बोलावट’देखि रातारात अख्तियारको हिरासतसम्मको यो घटनाक्रमले राहदानी खरिद प्रकरणभित्र अझै ठूला रहस्य लुकेको संकेत गरेको चर्चा प्रशासनिक वृत्तमा तीव्र बनेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस