२०८३ असार ३ गते, बुधबार १८:२४

पत्रकारका अधिकार सुनिश्चित गर्न महासंघको दबाब, कार्यवाहक नगरप्रमुखलाई पाँचबुँदे मागपत्र

वीरगन्ज

सञ्चारकर्मीहरूको लोककल्याणकारी विज्ञापनसम्बन्धी समस्यालाई सम्बोधन गर्न माग गर्दै आज नेपाल पत्रकार महासंघ पर्साले वीरगन्ज महानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ।

नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालको नेतृत्वमा महानगरपालिका पुगेको टोलीले वीरगन्ज महानगरपालिकाका कार्यवाहक नगरप्रमुख इम्तियाज आलमलाई भेटी सञ्चारकर्मीहरूको समस्या समाधान गर्न माग गर्दै पाँचबुँदे ज्ञापनपत्र बुझाएको हो।

महासंघका सचिव विजयकुमार महतोले वाचन गरी कार्यवाहक नगरप्रमुख आलमलाई बुझाएको ज्ञापनपत्रमा आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजन गरिएको लोककल्याणकारी सूचना तथा विज्ञापन तत्काल उपलब्ध गराई भुक्तानीको व्यवस्था मिलाउन, साप्ताहिक पत्रपत्रिकालाई सुविधा तथा अवसरबाट वञ्चित गर्ने विभेदकारी निर्णय अविलम्ब खारेज गर्न, नेपाल पत्रकार महासंघ पर्साको संस्थागत विकासका लागि विनियोजन गरिएको बजेट तत्काल उपलब्ध गराउन तथा स्थानीय आमसञ्चार प्रवर्द्धन सम्बन्धी कानुनमा व्यवस्था गरिएको ज्येष्ठ पत्रकार पेन्सन कार्यक्रम तत्काल कार्यान्वयन गर्न माग गरिएको छ।

ज्ञापनपत्र बुझाउँदै महासंघ पर्साका अध्यक्ष खनालले महानगरपालिकाको गल्तीको मूल्य सञ्चारकर्मीहरूले चुकाउन नपर्ने वातावरण बनाउन कार्यवाहक नगरप्रमुख आलमसँग आग्रह गर्नुभयो। उहाँले महानगरपालिकाको सञ्चार प्रवर्द्धन शाखाले समयमा सूचना प्रकाशन गर्ने व्यवस्था मिलाउन तथा सञ्चारमाध्यमहरूलाई अवसरबाट वञ्चित गर्ने प्रवृत्ति रोक्न आग्रह गर्दै साप्ताहिक पत्रपत्रिकामाथि गरिएको विभेद अन्त्य गर्न पनि माग गर्नुभयो।

ज्ञापनपत्र बुझ्दै कार्यवाहक नगरप्रमुख आलमले सञ्चारकर्मीहरूले उठाएका समस्याहरूको समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले कार्यालयमा उपलब्ध बजेटको अवस्थाबारे कर्मचारीहरूसँग छलफल गरी देखिएका समस्याहरूलाई सकेसम्म छिटो सम्बोधन गर्ने प्रयास गरिने जानकारी दिनुभयो।ज्ञापन पत्र बुझाउने टोलीमा नेपाल पत्रकार महासंघ पर्साका पूर्व अध्यक्ष शंकर खतिवडा, पूर्व कोषाध्यक्ष सेशमन पडित, समितिका सह-सचिव अजय कुमार चौरसीया, सदस्य रितेस झा, अजित भुजेल लगायतकाको उपस्थिती रहेको थियो।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस