२०८३ असार ३ गते, बुधबार १९:३५

वीरगन्ज चिनी कारखाना र जनकपुर चुरोट कारखाना ब्युँताउन रुस तयार

काठमाडौँ

नेपालका लागि रुसी महासंघका आवासीय राजदूत एलेक्सी भ्लादिमिरोभिच सुरोभत्सेभले नेपाल सरकारबाट आवश्यक प्रस्ताव आएमा बन्द अवस्थामा रहेका वीरगन्ज चिनी कारखाना र जनकपुर चुरोट कारखानालाई पुनः सञ्चालन गर्न रुस तयार रहेको बताएका छन्।

बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँगको शिष्टाचार भेटवार्ताका क्रममा राजदूत सुरोभत्सेभले यस्तो प्रतिबद्धता जनाएका हुन्।

भेटघाटका क्रममा राजदूत सुरोभत्सेभले नेपाल–रुस सम्बन्धलाई अझ सुदृढ बनाउन आफ्नो देश निरन्तर सहयोग गर्न तयार रहेको उल्लेख गरे। उनले ऐतिहासिक औद्योगिक प्रतिष्ठानहरूको पुनरुत्थानका साथै जलविद्युत्, कृषि, स्वास्थ्य तथा भौतिक पूर्वाधारका क्षेत्रमा समेत लगानी र सहयोग बढाउन रुस इच्छुक रहेको जानकारी दिए।

भेटमा उपराष्ट्रपति यादवले सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र रुसबीच मित्रवत् सम्बन्ध कायम रहँदै आएको भन्दै खुसी व्यक्त गरे। यस वर्ष दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पूरा हुन लागेको प्रसंग उल्लेख गर्दै उपराष्ट्रपति यादवले आपसी सम्मान, समझदारी र मित्रतामा आधारित यो सम्बन्धलाई नेपालले उच्च महत्व दिएको बताए।

उपराष्ट्रपति यादवले सोभियत संघ कालदेखि नै नेपालको मानव संसाधन विकास, पर्यटन, उद्योग तथा यातायात पूर्वाधारका क्षेत्रमा रुसले पुर्‍याएको योगदानको प्रशंसा गरे। पछिल्ला वर्षहरूमा दुई देशबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्ध थप प्रगाढ बन्दै गएकोमा सन्तोष व्यक्त गर्दै उनले आगामी दिनमा यो सहकार्य अझ मजबुत हुने विश्वास व्यक्त गरे।

भेटका क्रममा उपराष्ट्रपति यादवले रुसी महासंघको राष्ट्रिय दिवसको अवसरमा रुसी सरकार र त्यहाँका जनताको सुख, शान्ति र समृद्धिको कामना समेत गरेका थिए।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस