वीरगन्ज-
समाचार प्रकाशन गरेको विषयलाई लिएर वीरगन्जका केही सञ्चारकर्मी अपमानित हुनुपरेको घटना सार्वजनिक भएको छ। समाचार लेखेकै निहुँमा यात्रा डेली डटकममा कार्यरत सञ्चारकर्मीहरूमाथि दुव्र्यवहार भएको छ ।
असार २ गते प्रकाशित “वीरगन्जका चार ब्युटी पार्लरमाथि कारबाही”शीर्षकको समाचारप्रति असन्तुष्टि जनाउँदै अपराह्न करिब ३ बजे वीरगन्ज महानगरपालिका–६, घण्टाघर चोक नजिक सञ्चालनमा रहेको हेयर ट्याग सैलुनमा कार्यरत हरिकिशोर साह लगायतका व्यक्तिहरू रानीघाटस्थित यात्रा डेलीको कार्यालयमा पुगेका थिए । उनीहरूले कार्यालयमा प्रवेश गरी गालीगलौज गर्नुका साथै सञ्चारकर्मीमाथि आक्रमणको प्रयास गरेको आरोप लगाइएको छ।
समाचारमा आफ्नो सैलुनको नाम किन उल्लेख गरिएको भन्दै ८–१० जनाको समूहसहित कार्यालयमा आएका साहले यात्रा डेलीमा कार्यरत सञ्चारकर्मी तथा कर्मचारीमाथि दुव्र्यवहार गरेको यात्रा डेली प्रालिका अध्यक्ष राम सर्राफले जानकारी दिनुभयो।
घटनापछि शान्ति सुरक्षाको माग गर्दै हरिकिशोर साहसहित संलग्न व्यक्तिहरूमाथि जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता गरिएको अध्यक्ष सर्राफले बताउनुभयो। उहाँका अनुसार जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता नम्बर १७६६४ अन्तर्गत उजुरी दर्ता गरी घटनाको निष्पक्ष छानबिन तथा दोषीमाथि कारबाहीको माग गरिएको छ।
यात्रा डेली डटकमको कार्यालयमा पुगेर केही व्यक्तिहरूले सञ्चारकर्मीहरूसँग दुव्र्यवहार गरेको सम्बन्धमा लिखित उजुरी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिनुभयो। उहाँका अनुसार यात्रा डेली प्रालिका अध्यक्ष राम सर्राफले दिएको उजुरी दर्ता गरी घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य सुरु गरिएको छ।
समाचारप्रति चित्त नबुझे कानुनी बाटो अवलम्बन गर्नुको सट्टा सञ्चारकर्मीलाई डर–त्रास देखाउने कार्य गलत भएको प्रतिक्रिया दिँदै सूचना अधिकारी बस्नेतले घटनामा संलग्न व्यक्तिहरूलाई छिट्टै कानुनको दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभयो।











