काठमाडौँ –
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङ राईले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको जवाफदेहिता, बजेट पारदर्शिता र वैदेशिक रोजगारीसँग सम्बन्धित विषयमा कडा टिप्पणी गरेका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सत्ता र प्रतिपक्षबीच संवादहीनता बढ्दै गएको भन्दै असन्तुष्टि जनाए।
प्रतिपक्ष बोलिरहने, सत्ता पक्ष नसुनी अगाडि बढिरहने गर्न नहुने भन्दै सरकार र संसद दुवै जिम्मेवार बन्नुपर्ने बताए ।
उनले नेताहरूको व्यवहार र नैतिकतामाथि टिप्पणी गर्दै पद र पहिरनले मात्र मानिस जिम्मेवार नबन्ने भन्दै ‘हामी जिम्मेवार बन्नुपर्छ, नैतिकता र जवाफदेहिता आवश्यक छ,’उनले भने।
त्यसैगरी, उनले अर्थ मन्त्रालयसँग सम्बन्धित बजेट कागजात वितरणमा भएको ढिलाइबारे प्रश्न उठाए।
रक्षा मन्त्रालयको बजेट बुक अझै उपलब्ध नभएको भन्दै उनले यो व्यवस्थापनको कमजोरी हो वा नियतगत समस्या भन्नेबारे स्पष्टता माग गरे।
सूचना तथा सञ्चार मन्त्रालयले अघिल्लो दिन सार्वजनिक गरेको ५ अर्ब रुपैयाँभन्दा बढीको बजेट ब्रेकडाउनमा पनि उनले असंगति देखिएको दाबी गरे।
उनका अनुसार वास्तविक विवरणमा करिब १ अर्ब ६१ करोड मात्र देखिएको र बाँकी रकम प्रदेश तथा स्थानीय तहमा जाने भनिए पनि स्पष्ट विवरण नदिइएको भन्दै उनले वित्तीय पारदर्शितामा प्रश्न उठाए।
त्यस्तै, उनले भारतको पटनामा नेपाली नागरिकहरूलाई नेटवर्किङको नाममा ठगी गरी बन्धक बनाइएको भन्ने सूचना आएको उल्लेख गर्दै सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराए। उनले पीडित नेपाली नागरिकहरूको तत्काल उद्धार गर्न सरकारलाई आग्रह गरे।
सांसद राईले वैदेशिक रोजगारीका कारण नेपाली युवा बाध्य भएर विदेशिनु परेको भन्दै देशमै रोजगारी सिर्जना गर्न सरकार गम्भीर हुनुपर्ने बताए।












