२०८३ असार ८ गते, सोमबार २०:३६

राहदानी ठेक्कामा १० अर्ब १३ करोडको भ्रष्टाचार: विभागका महानिर्देशक अर्यालसहित १६ जना र दुई कम्पनीविरुद्ध मुद्दा दायर

काठमाडौँ

राहदानी (पासपोर्ट) छपाइ तथा खरिद ठेक्का प्रक्रियामा इतिहासकै ठूलो मध्येको एक भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। अख्तियारको टोलीले सोमबार बन्दोबस्तसहितको मिसिल र फाइल लिएर विशेष अदालत पुगी औपचारिक रूपमा आरोपपत्र दर्ता गराएको हो। उच्चपदस्थ कर्मचारी र राष्ट्रियस्तरका बिचौलिया जोडिएको यो मुद्दा दर्ताका क्रममा विशेष अदालत परिसरको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको थियो।

अख्तियारले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १६ जना व्यक्ति र ठेक्का सम्झौता गर्ने २ वटा अन्तर्राष्ट्रिय कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो। विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानीका अनुसार अख्तियारले यो प्रकरणमा कुल १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बराबरको विगो दाबी गरेको छ।

१० जना कर्मचारी र २ बिचौलियासहित १६ विरुद्ध अभियोजन

अख्तियारद्वारा दायर गरिएको आरोपपत्रमा राहदानी विभागका १० जना बहालवाला तथा तत्कालीन कर्मचारी, बिचौलिया र कम्पनीका नेपाली प्रतिनिधिहरूलाई मुख्य अभियुक्त बनाइएको छ। मुद्दा दायर गरिएका प्रमुख व्यक्तिहरूमा तीर्थराज अर्याल (महानिर्देशक, राहदानी विभाग) , सुनिल केसी (निर्देशक), शत्रुधन शर्मा पोखरेल (निर्देशक) ,रविन्द्र राजभण्डारी (निर्देशक) ,तुलसी आचार्य (लेखा अधिकृत), राजाराम दाहाल (उपसचिव) ,भेष प्रसाद भुर्तेल (उपसचिव) ,पुस्कर नेपाल (उपसचिव) सोमेश थापा (अधिकृत) र विपिन प्रसाईं (आईटी अधिकृत)रहेका छन् ।

यस्तै, राजनीतिक पहुँचका आधारमा ठेक्का हत्याउन सफल भएका भनिएका दुई नेपाली सहजकर्ता (बिचौलिया) सिद्धार्थ थापा र मणिन्द्रराज मल्लसहित १६ जनालाई प्रतिवादी बनाइएको छ। यसका साथै, ठेक्का प्राप्त गर्ने जर्मन र स्पेनी मूलका दुई बहुराष्ट्रिय कम्पनीलाई समेत अख्तियारले मुद्दामा तनेको छ।

पूर्वपरराष्ट्रमन्त्रीद्वय राणा र श्रेष्ठसँग बयान, प्रतिवादीबाट उन्मुक्ति

राहदानी छपाइमा भएको यो विशाल अनियमितताको विषयमा अनुसन्धानका क्रममा अख्तियारले राजनीतिक नेतृत्वमाथि समेत सोधपुछ गरेको थियो। सोही क्रममा तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवा र पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग समेत अख्तियारले विशेष बयान लिएको थियो।

परराष्ट्रमन्त्रीद्वयको कार्यकालमा यो ठेक्काको नीतिगत र व्यावहारिक प्रक्रिया अघि बढेकाले अख्तियारले बयान लिए पनि सोमबार दायर गरिएको अन्तिम आरोपपत्र (अभियोजन) मा उनीहरू दुवै जनालाई प्रतिवादी भने बनाइएको छैन। राजनीतिक दबाब र सेटिङको चरम नमुना मानिएको यो राहदानी खरिद प्रकरणको मुद्दा राष्ट्रिय राजनीति र प्रशासनिक वृत्तमा ठूलो तरंग पैदा गर्ने गरी विशेष अदालतमा प्रवेश गरेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस