२०८३ असार ९ गते, मंगलवार २१:५४

प्राविधिक ढिलाइपछि रास्वपाको प्रथम महाधिवेशनको बन्दसत्र आज सुरु, यस्तो छ कार्यतालिका

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशनको बन्दसत्र प्राविधिक कारणले एक दिन ढिलाइ भएपछि आज (मंगलबार) देखि सुरु हुँदैछ। सोमबार बिहान ८:३० बजे नै सुरु गर्ने भनिएको बन्दसत्र प्रतिनिधिहरूको नामावली रुजु र परिचयपत्र (कार्ड) छपाइको काम नसकिएका कारण आजका लागि सारिएको थियो।

बन्दसत्र सञ्चालनका लागि आज बिहान ७ बजेदेखि नै प्रतिनिधिहरूलाई परिचयपत्र वितरण कार्य सुरु भइसकेको छ। पार्टी प्रवक्ता मनिष झाका अनुसार महाधिवेशन प्रतिनिधिको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने र कार्ड छपाइमा समय लागेकाले बन्दसत्र केही पछि सरेको हो। पार्टीको सर्वोच्च निकाय महाधिवेशन भएकाले प्रक्रियामा कुनै विवाद नआओस् भनेर सजगता अपनाउँदा ढिलाइ भएको उनले स्पष्ट पारे। ७ प्रदेश, समायोजन र प्रवासका प्रतिनिधिहरूका लागि फरक-फरक स्थानबाट सहज रूपमा कार्ड वितरण भइरहेको छ।

आइतबार चितवनको गेष्टहाउस चौरमा भव्य रूपमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्रका बाँकी कार्यक्रमहरू उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सञ्चालन भइरहेका छन्।

यस्तो छ बन्दसत्रको कार्यसूची

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार कार्ड वितरण सकिएलगत्तै पूर्ववत् तालिकाअनुसार बन्दसत्रका प्रस्तावहरूमाथि छलफल सुरु हुनेछ:

१. अनुशासन आयोगको प्रतिवेदन: बन्दसत्रको सुरुमा अनुशासन आयोगका प्रमुख रमाकान्त रिमालले आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन् र त्यसमाथि छलफल हुनेछ।

२. आर्थिक प्रतिवेदन: त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले पार्टीको आर्थिक प्रतिवेदन प्रस्तुति र छलफलका लागि पेस गर्नेछिन्।

३. सङ्गठनात्मक प्रतिवेदन: आर्थिक प्रतिवेदन पारित भएपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

४. विधान परिमार्जन: पार्टीका सहमहामन्त्रीले विधान संशोधन तथा परिमार्जनमाथिको प्रस्ताव छलफलका लागि राख्नेछन् र त्यसलाई अनुमोदन गराइनेछ।

५. राजनीतिक प्रतिवेदन: सबै प्रतिवेदनपछि पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्नेछन्, जसमाथि गहन छलफल र अनुमोदन गरिनेछ।

नेतृत्व चयनका लागि निर्वाचन आयोगलाई जिम्मेवारी सुम्पिइने

राजनीतिक प्रतिवेदन अनुमोदन भएसँगै सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणा गर्नेछन्। सो लगत्तै वर्तमान आयोजक समिति विघटन भई सम्पूर्ण जिम्मेवारी पार्टीको निर्वाचन आयोगलाई सुम्पिने तालिका रहेको छ। त्यसपछि निर्वाचन आयोगले नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सम्बन्धी आधिकारिक जानकारी र तालिका प्रकाशन गर्नेछ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस