२०८३ असार ११ गते, बिहीबार ११:०४

भेनेजुएलामा लगातार दुई शक्तिशाली भूकम्प, राजधानी काराकासमा व्यापक भौतिक क्षति र सुनामीको चेतावनी

काठमाडौँ

दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा लगातार दुईवटा शक्तिशाली भूकम्प जाँदा राजधानी काराकाससहितका विभिन्न क्षेत्रमा ठुलो भौतिक क्षति भएको छ। भूकम्पका कारण कयौँ भवनहरू भत्किएका छन् भने स्थानीय बासिन्दाहरू चरम त्रासका कारण घर छाडेर सडकमा निस्किएका छन्। समाचार संस्था एपीका अनुसार यो भेनेजुएलामा एक शताब्दीभन्दा बढी समययता आएका सबैभन्दा शक्तिशाली भूकम्पहरूमध्येका हुन्, जसले गर्दा देशको जनजीवन पूर्ण रूपमा प्रभावित बनेको छ।

अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार स्थानीय समयअनुसार साँझ ६ बजेलगत्तै मात्र एक मिनेटको अन्तरालमा यी दुई विनाशकारी भूकम्प गएका थिए। पहिलो भूकम्प ७.१ म्याग्निच्युडको थियो, जसको केन्द्रबिन्दु राजधानी काराकासबाट करिब १६८ किलोमिटर पश्चिममा पर्ने क्यारिबियन तटीय क्षेत्रको मोरोन समुदाय नजिकै २२ किलोमिटर गहिराइमा रहेको थियो। त्यसको ठीक एक मिनेटपछि सोही क्षेत्रलाई केन्द्रबिन्दु बनाएर १० किलोमिटर गहिराइमा ७.५ म्याग्निच्युडको अर्को थप शक्तिशाली भूकम्प गएको थियो। यूएसजीएसले भूकम्पको प्रकृतिका कारण ठुलो सङ्ख्यामा मानवीय क्षति र व्यापक भौतिक क्षति हुन सक्ने भन्दै यो विपद् ठुलो क्षेत्रमा फैलिएको हुन सक्ने चेतावनी दिएको छ।

भूकम्पको कडा कम्पनका कारण राजधानी काराकासमा गगनचुम्बी भवनहरू तीव्र रूपमा हल्लिएपछि मानिसहरू ज्यान जोगाउन खुला स्थानतर्फ भागेका थिए। भूकम्पको प्रहारबाट घरका पूरा भित्ताहरू भत्किएर सडकबाटै भित्रका फर्निचरहरू स्पष्ट देखिने अवस्था सिर्जना भएको छ भने रेस्टुरेन्ट तथा अन्य व्यापारिक व्यवसायहरू व्यस्त रहने क्षेत्रमा भवनहरू भत्किँदा धुलोको ठुलो मुस्लो उडेको देखिएको थियो। सूर्यास्त भइसकेपछि पनि स्थानीय बासिन्दाहरू घर फर्किन नसकी आफ्ना घरपालुवा जनावरहरूलाई अँगालो हालेर सडकमै बसिरहेका देखिन्थे। स्थानीय प्रत्यक्षदर्शी हेक्टर रिक्कीका अनुसार सुरुमा भूकम्पको कम्पन हल्का महसुस भए पनि विस्तारै यसको तीव्रता अत्यधिक बढेपछि सबैजना घर छाडेर बाहिर निस्कन बाध्य भएका थिए।

भेनेजुएलाका गृहमन्त्री डिओस्दादो काबेलोले भूकम्पको धक्का देशका विभिन्न राज्यहरूमा महसुस गरिएको र काराकासको अल्तामिरा क्षेत्रमा घर तथा भवनहरू भत्किएकाले अवस्था निकै चिन्ताजनक रहेको बताउनुभएको छ। उहाँले भूकम्पका कारण कयौँ मानिसहरू घाइते भएको हुन सक्ने आशङ्का व्यक्त गर्दै एम्बुलेन्स र अन्य उद्धार सवारीसाधनलाई प्राथमिकताका साथ बाटो दिन सर्वसाधारणलाई आग्रह गर्नुभएको छ। यसैबीच, भूकम्पको केन्द्रबिन्दु समुद्री तटीय क्षेत्रनजिक रहेकाले अमेरिकी प्रशान्त सुनामी चेतावनी केन्द्रले भर्जिन टापुहरूका लागि सुनामीको चेतावनी जारी गरेको छ भने डोमिनिकन गणराज्यका अधिकारीहरूले पनि आफ्नो द्वीपका लागि सतर्कताको सूचना जारी गरेका छन्। पुएर्टो रिकोका लागि जारी गरिएको अर्को चेतावनी भने केही समयमै हटाइएको छ। भूगर्भविद्हरूका अनुसार भेनेजुएलामा यति शक्तिशाली भूकम्पहरू विरलै मात्र आउने गर्दछन्।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस