काठमाडौँ ।
बढ्दो वैश्विक तापक्रम र जलवायु परिवर्तनका कारण विश्वका विभिन्न भागमा चरम मौसमी घटनाहरू बढ्दै गएका छन्। पछिल्लो समय युरोपका धेरै देशहरू भीषण गर्मी (लू) को चपेटामा परेका छन्, जसले जनजीवन अस्तव्यस्त बनाउनुका साथै मानवीय क्षति पनि बढाएको छ।
फ्रान्स, इटाली र बेलायतसहित युरोपका विभिन्न देशमा अत्यधिक गर्मीका कारण उच्च सतर्कता अपनाइएको छ। फ्रान्समा गर्मीबाट राहत पाउन नदी, ताल तथा नहरमा पौडी खेल्न गएका ४० भन्दा बढी व्यक्तिको डुबेर मृत्यु भएको छ। बेलायत र इटालीमा मौसम विभागले रेड अलर्ट जारी गरेका छन्।
मौसमविद्हरूका अनुसार पश्चिमी युरोपमा सुरु भएको तातो हावाको लहर अब पूर्वी युरोपतर्फ सर्ने सम्भावना छ। यसलाई पछिल्ला वर्षहरूमा तीव्र बन्दै गएको जलवायु परिवर्तनको प्रभावका रूपमा हेरिएको छ।
फ्रान्समा मंगलबार जुन महिनाकै सबैभन्दा तातो दिन रेकर्ड गरिएको छ। त्यहाँ औसत तापक्रम २९.८ डिग्री सेल्सियस पुगेको थियो भने दक्षिण–पश्चिमी लान्देस क्षेत्रमा तापक्रम ४४.३ डिग्री सेल्सियससम्म मापन गरिएको छ।
अत्यधिक गर्मीका कारण उत्तर–पश्चिमी फिनिस्टर क्षेत्रमा ट्रान्सफर्मरमा समस्या उत्पन्न हुँदा ६८ हजार घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो। साथै, ब्रेन्योन जंगलमा लागेको डढेलो नियन्त्रणका लागि १५० भन्दा बढी दमकलकर्मी परिचालन गर्नुपरेको थियो।
फ्रान्सको मौसम विभाग ‘मेटियो फ्रान्स’ ले ५८ क्षेत्रमा रेड अलर्ट र ३१ क्षेत्रमा ओरेन्ज अलर्ट जारी गरेको छ। शुक्रबारदेखि तापक्रम केही घट्ने भए पनि आँधीबेहरी र असिनापानीको सम्भावना रहेको अनुमान गरिएको छ।
उता इटालीको मध्य तथा उत्तरी क्षेत्र सबैभन्दा बढी प्रभावित बनेका छन्। राजधानी रोमसहित १६ प्रमुख सहरमा रेड अलर्ट जारी गरिएको छ। सरकारले किसान तथा बाहिरी क्षेत्रमा काम गर्ने मजदुरहरूको सुरक्षाका लागि विशेष नियम पुनः लागू गरेको छ।
गर्मीका कारण व्यवसाय बन्द गर्नुपरे कर्मचारीलाई सरकारी कोषबाट सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको छ। स्वास्थ्य मन्त्रालयले सर्वसाधारणलाई मासुको सट्टा पास्ता खान तथा कफी वा चिसो बियरभन्दा बढी पानी पिउन सुझाव दिएको छ। ट्युरिन, मिलान, भेनिस र फ्लोरेन्सजस्ता सहरहरूमा संकटकालीन अवस्था सिर्जना भएको छ।
बेलायतमा पनि अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ। गर्मीकै कारण एक हजारभन्दा बढी विद्यालय बन्द गरिएका छन् वा विद्यार्थीलाई समयअघि नै बिदा दिइएको छ। इङ्गल्यान्ड र वेल्सका केही क्षेत्रमा बिहीबार रातिसम्मका लागि रेड अलर्ट जारी गरिएको छ।
बेलायतको मौसम विभागले सन् २०२१ देखि ‘हिट अलर्ट’ प्रणाली लागू गरेयता यो दोस्रो पटक रेड अलर्ट जारी गरेको हो। यसअघि जुलाई २०२२ मा बेलायतमा इतिहासकै उच्च ४०.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो।
स्पेनको उत्तर–पूर्वी क्षेत्र आरागोनमा सबैभन्दा बढी तापक्रम मापन गरिएको छ। डढेलोको जोखिम बढेपछि परम्परागत ‘सान जुआन’ पर्वमा आगो बाल्ने तथा लियोन सहरमा आतिशबाजी गर्ने कार्यक्रमहरू रद्द गरिएका छन्।
गर्मीबाट जोगिन विभिन्न सहरमा ‘हिट रिफ्युज’ अर्थात् वातानुकूलित सार्वजनिक भवन सञ्चालनमा ल्याइएका छन्। सन् २०२४ मा लागू गरिएको कानुनअनुसार कम्पनीहरूले दिनको सबैभन्दा गर्मी समयमा मजदुरलाई भारी काम गराउन नपाउने व्यवस्था गरिएको छ।
गर्मीको यो लहर अब अन्य युरोपेली देशहरूमा पनि फैलिरहेको छ। नेदरल्यान्ड्सका केही भागमा ओरेन्ज अलर्ट जारी गरिएको छ भने बेल्जियममा पनि तापक्रम उच्च रहने अनुमान गरिएको छ। जर्मनीमा सप्ताहन्तसम्म तापक्रम ४० डिग्री सेल्सियस पुग्न सक्ने चेतावनी दिइएको छ।
त्यसैगरी, पोल्यान्ड, क्रोएसिया र हंगेरीलगायत पूर्वी युरोपेली देशहरूमा पनि साताको अन्त्यसम्म गम्भीर गर्मीको अलर्ट जारी गरिएको छ। जलवायु विज्ञहरूका अनुसार यस्ता चरम मौसमी घटनाले विश्वव्यापी तापक्रम वृद्धिको प्रभाव झन् स्पष्ट रूपमा देखाइरहेको छ।











